बाँठा मगरहरुको पौराणिक थलो गलांयल


धौलागिरी हिमश्रृंखला अन्तर्गतको पुथा हिमालको काखमा “बराजास गों” भन्ने एउटा रमणिय पाटन छ । यो रमणिय ठाउँ हुनुको साथसाथै नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्ष अन्तर्गत सुनदह ब्लगको बेस क्याम्प पनि हो । जो अहिले हिमाली जिल्ला रुकुम पूर्ब, पुथाउत्तरगंगा गाउँपालीका वडा नं. ३ घानाम गाउँको भुगोलभित्र समेटिएको छ । घानाम गाउँलाई अहिले रन्मा भनेर चिनिन्छ ।

“बराजास गों” पाटन देखि “स्लोगा धुरी” हुँदै बकर गौंडा पुगिन्छ । यहि बकर गौंडालाई “कुम्बै बकर ओस्तेउ” नामले चिनिन्छ ।

त्यो गौंडा कटेपछी “बांठा राई याखो-या” पुगिन्छ । खाम कुरामा बांठा राई याखो-या भन्नाले “बांठाहरुको खोरिया” भनेर बुझिन्छ । बांठाहरुले त्यस क्षेत्रमा पहिलोपटक जंगल फांडेर खोरिया बारी बनाएका थिए । अहिले त्यो भुगोल लेकाली जंगलले भरिएको भएपनि उनिहरुले चिनेका ढुंगाका पर्खालहरु उस्तै देख्न सकिन्छ ।

“बांठा राई याखो-या” बाट अलिकति तल झरेपछी “गलांयल” पुगिन्छ । यहि “गलांयल” मै बांठाहरुको बस्ती थियो । गोठ बनाउदा वा शिकारीहरुले बास बनाउने वेलामा अहिले पनि उनिहरुका घरका पर्खालका निशानीहरु फेला पार्छन् ।

अहिले त्यस ठाउँमा कुनै मानव बस्ती छैन । कुनै वेलाको भब्य बस्ती अहिले जंगलले ढाकिएको छ र मानिसहरुको सिकार क्षेत्रमा परिणत भएको छ । असोजमा बस्तुभाउहरु पनि लग्ने गरिन्छ भने हिउँदमा हिउँ बर्षने भएपनि पहारिलो र न्यानो ठाउँ भएकाले केही गोठालाहरुले मंसिरदेखी चैत्रसम्म त्यहाँ भेडाबाख्राहरु पाल्ने गरेको देखिन्छ ।

गलांयलको तल एउटा खोला बग्छ । सानीभेरीको मुहानहरु मध्ये त्यो खोला पनि एउटा मुहान हो । त्यसको माथी भिमकाय फुस्रो पहाड उभिएको छ, जहाँ झारल, कस्तुरी, घोरल, बांदर, डाँफे जस्ता पशुपक्षीहरु देख्न सकिन्छ । बांठाहरुले खनेको समतल खोरिया भित्रको भयानक जंगल भने बदेलहरुको चरण स्थल भएको छ ।

रन्मा गाउँका खन्का बुढाका अनुसार गलांयलमा बांठाहरु अत्यन्तै धनी थिए । त्यहाँ आलु र उवा प्रशस्त मात्रामा उत्पादन हुन्थ्यो । त्यहाँको उवा भोटसम्म पुग्थ्यो । कुम्ब नामको भोटेले भोटबाट नुन त्यहाँ आपूर्ति गर्दथे भने त्यहाँबाट उसले उवा लिएर जान्थे । उनले “कुम्बै बकर ओस्तेउ” भन्ने बाटो भएर गलांयलमा बकरहरु ल्याउने गर्दथे । पछि त्यो ठाउँको नामै “कुम्बै बकर ओस्तेउ” नामाकरण गरियो । त्यो ठाउँ हुँदै कुम्बले बकरहरु गलांयल झारेको हुनाले सोही नामबाट ठाउँको नाम रहन गएको थियो ।

पहिलोपटक त्यस क्षेत्रमा आलु तिनै बांठाहरुले फलाएका थिए । जुन आलु भोटबाट निर्यात गरिएको थियो । मगर खाम कुरामा आलुलाई “क्वाल्जी” वा “भोटान्जी” भनिन्छ ।

मगर खाम कुरामा क्वाल भनेको भोटे हुन्छ । कतैकतै आलुलाई “भोटान्जी” पनि भन्ने गरिन्छ । भोटबाट निर्यात भएको आलु भएकाले यसको भोटान्जी वा क्वाल्जी नामाकरण गरियो । यसलाई बांठाहरुले नै नामाकरण गरेको खन्का बुढाले बताउनु हुन्छ । यी दुबै मगर खाम कुराबाट पनि आलु भोटबाट आयात गरिएको बाली हो भनेर बुझ्न सकिन्छ । तिनै कुम्ब भोटेले कहिले आलु त कहिले नुन बेच्न आउँथे । उवासंग त्यसको बिनिमय हुन्थ्यो । त्यस युगमा मुद्राको आबिस्कार भएको थिएन ।

बांठा मगर खामबाट राखिएको थर हो । यो पेशागत थर पनि हो । मगर खाममा बांठा भनेको डोरी बाट्ने निगालोबाट बनेको क्रुस आकारको औजार हो । यसले अब्बल खालको “छिं” डोरी तयार गरिन्छ ।

गलांयल यस्तो ठाउँ हो, जो पुवाको लागि प्रसिद्ध ठाउँ पनि हो । गलांयल वरपरका ठाउँहरु काकुबां, धोपा, पस्यारी बास, सेलारी बास यी सबै ठाउँहरुमा बांठाहरुले भोगचलन गर्दथे । जहाँ अहिले पनि पुवाको खानी नै छ । पुवाबाट धागो निकालिन्थ्यो । त्यतिखेरको लत्ताकपडा सबै त्यही पुवाबाट बुन्ने गरिन्थ्यो ।

बांठाहरुले “गोभ्या” बुन्नमा अचाख्ली सिपालु थिए । सानैदेखि सबैलाई बांठा चलाउन सिकाइन्थ्यो । छोरीहरु पुवाबाट “प्वा पोरैन्या” काममा अब्बल हुन्थे भने छोरा मान्छेहरुले त्यसरी निकालिएको धागोवाट बांठाको मद्दतले डोरीहरु तयार पार्दथे । त्यसरी तयार पारिएको डोरी भारी बोक्ने नाम्लो, गाई बस्तु बाँध्ने दाम्लो, पासो थाप्न समेत प्रयोग गरिन्थ्यो ।

छोरा मान्छेहरुको हातमा संधै बांठा हुन्थ्यो । बाटो हिंडिरहेको वेला पनि बांठा चलाउने गर्दथे । कचहरीहरुमा पनि बाँठा बोकेरै जान्थे । उनिहरुले बुनेको डोरी घानाम, मैनाम जताततै प्रसिद्ध थियो । यहि कारण कालान्तरमा घानाम मैनामका मगरहरुले उनिहरुलाई बांठा भन्न थाले । अहिले उनिहरुको भोगचलन गरेको ठाउँलाई बांठाहरुको बस्ती भनेर चिन्ने गरिन्छ ।

गलांयलबाट बांठाहरु कसरी विस्थापित भए ?
गलांयलबाट बांठाहरु विस्थापित हुनुमा दुई कारण देखाइएको छ । एउटा कारण, बांठा बस्तिमा भोब्य ब्यथा पसेकाले त्यसले सबै बांठाहरुको मृत्युु भएको भनिन्छ । भोब्या भनेको त्यतिखेरको सबैभन्दा मानव संहार रोग थियो । अहिले पनि त्यस मगर खाम भाषी समाजमा “भोब्याइ ओचारो” भन्ने गाली प्रचलनमा छ ।

एउटा कारण चाहिं गलांयलमा जरमुठे वा मालिङ्गे जातको निगालो फलेछ । निगालो फल्दै फल्दैन फल्यो भने त्यो मासिने गर्दछ । त्यसरी फलेको निगालोको गेडालाई बांठाले जांड बनाएर घ्याम्पोमा राखे । पछि त्यस घ्याम्पोमा ओथारो बस्न लागेको कुखुरा जस्तै बासेको सुनियो । खोलेर हेर्दा घ्याम्पो भित्र अजिङ्गर भेटिएको अनि अशुभ भएर बांठाहरु मासिएको मानिन्छ । अजिङ्गरलाई त्यहाँ अशुभ संकेतको रुपमा लिने गरिन्छ । तर यो तर्क सत्य निकट मान्न सकिदैन ।

त्यसरी बस्तिका एकजना बृद्ध महिला मात्रै बाँचेको थिए । उनले रन्मा गाउँमा आएर एकजना मान्छेलाई आफूलाई पालेपोसे आफुहरुले गलांयलमा लुकाएर राखेको सुन चाँदी आधा दिने बताए ।

तर त्यो रन्मालीको मनमा पुरै सुन चाँदी हडप्ने लोभ जागेछ । पहिले सुन चाँदी कहाँ लुकाएर राखिएको छ, त्यो ठाउँ देखाउन जानू भनेर रन्मालीले त्यो वृद्ध मान्छेलाई भनेछ ।

गलांयल माथिको डाँडाबाट ती बृद्ध मान्छेले बस्तिको नजिकै ढुंगाको छेवैमा गाडीएको छ भनेर के मात्रै बताएका थिए, त्यस रन्मालीले ती बृद्ध मान्छेलाई डाँडाबाट तलको भिरमा धकेलिदिएछ । त्यसपछि त्यस रन्मालीले खजाना खोज्न जाँदा फेला पार्न नसकेको कुरा बताइन्छ । कारण त्यस बृद्धले भने बमोजिम त्यहाँ थुप्रै ढुंगाहरु थिए । कुन ढुंगा हो पत्ता लगाउनै सकेन । अझैसम्म त्यहाँ कुनै न कुनै ठाउँमा बांठाहरुको खजना रहेको बिश्वास गरिन्छ ।

एकपटक गोठ बनाउने वेला मेरो काका बलकर्म बुढाले एउटा फलामको तोला फेला पार्नु भएको थियो । उहाँको भनाई अनुसार त्यो तोला हामीले चलाउने तोला भन्दा निकै ठूलो थियो । अरु ग्वालाहरुले पनि फलामका अन्य औजारहरु फेला पारेका थिए ।

२२ श्रावण २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको