नेपालको संबिधान २०७२ ले हामी नेपाली जनतालाई “सार्वभौम सत्तासम्पन्न” किटान गर्दै नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित भएको ठोकुवा गरेको छ। राज्यगत सर्वोच्च शक्ति वा प्रभुसत्ता नेपाली जनतामा ल्याउन नेपाल आमाका हजारौ उत्कृष्ट सन्तानहरुको रगतले लेखिएको हाम्रो संबिधान नेपालको मूल कानुन हो । हाम्रो संविधानले गौरवपूर्ण ऎतिहासिक आन्दोलन र सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास स्मरण गर्दै शहीदहरु, बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यको उद्घोष गरेको छ।
समाजवादप्रति प्रतिबद्द समृद्द राष्ट्र निमार्ण गर्ने, सहभागितामुलक सिद्दान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प हाम्रो संविधानको मूल मर्म हो ।
जनताका छोरा छोरीहरुको बलिदान मात्रै होईन अर्बौ खर्च गरी जारी गरिएको विश्वकै उत्कृष्ट संविधान भनिएको नेपालको सविधान आज पुन चर्चाको शिखरमा छ। बिडम्वना नै मान्नु पर्दछ, नेपालमा गणतन्त्र असम्भव देख्नेहरु, गणतन्त्र स्थापनाको यात्राका रमीतेहरु, समाजवादका उडन्ते गफाडीहरु, विभेद र उत्पीडनका पक्षधरहरु, आफुलाई अलौकिक र चमत्कारिक ठान्ने औतारीहरु यही संविधानले सत्ता र शक्तिको चैतारीमा विराजमान बनायो। आज तिनै संविधानको टाईकुन (tycoon) बनी हुदाखादाको प्रतिनिधिसभा बिघटन गराए।
आफैले आफुलाई “काम चलाउ” बनाउदा समेत टाइकुन मालिकको अनुहारमा कुनै धक, सङ्कोच, सरम वा लज्जाबोधको मनोभाव समेत देखिदैन।
कुरीकुरी भन्न पनि लाज लाग्ने गरी गरिएको यही हर्कतको लाजको पसारोबाट शासित हुनु पर्दा स्वाभिमानी नेपालीको शिर झुकेको छ। अहिलेको सरकार संविधानको कुन धारामा टेकेर निर्माण भएको हो त्यो स्वय सरकार प्रमुख र रास्ट्र प्रमुखलाई समेत थाहा छैन। के हामीले रोजेको राज्य ब्यबस्था यस्तै थियो?
एउटा तामसी, लम्फु, लखनटट्टु उडन्तेको सोचले जे गर्यो त्यही मान्नुपर्ने ? के हाम्रो संविधान स्वस्थानी वर्तकथा जस्तो हो जसले जस्तो भाका हालेर पढे पनि हुने? होईन भने एउटा फन्टुसको फन्दाले रिगाउने कस्तो सहभागितामुलक र समतामुलक समाजको निर्माण हुन्छ? यो व्यबस्थाको दोष हो वा व्यबस्थाको मियोमा खेल्ने व्यक्तिहरुको दोष हो त्यसको छिनो-फानो गरीनु पर्दछ। नेपाली जनताको प्रभुसत्ता कुनै सनकीको बक्सिस वा अनुग्रह होईन। नेपाली जनता वल्लो घाट न पल्लो तीर, वारि खाल्डो पारि भीरको अवस्थामा कहिले सम्म जिउने? व्यक्ति वा ब्यबस्था कहा दोष छ खोज्ने बेला भएको छ।
“केटी हेर्न नपर्ने र केटो बोल्न नपर्ने” को अवस्था हो भने समग्र पक्षको पुर्नरपरिभाषित गरीनु पर्दछ।
प्रधानमन्त्री शर्मा ओली (मैले सचेतनापूर्वक खडग प्रसाद लेख्न सक्दिन किनकी मेरो नामसंग उनको नाम मिल्दा मलाई हिनताबोध हुन्छ) ले संघीय संसद प्रतिनिधिसभा बिघटनको सिफारिसमा रास्ट्रपतिबाट तत्काल ल्याप्चे लगाईदिए पछि एउटा नयाँ तरंग सृजना भएको छ। ओलीलाई नै ब्रह्मा, बिष्णु र महेश्वर मान्नेहरु एउटा साच्चै आस्तिक पुरेतको मृत्यु पछि बैतर्णी नदी पार गरे पछिको प्रेतआत्मा जस्तो देखिन्छन। शिवजीलाई धतुरोको नसा नलागे जस्तो गरी ओलीका सबै छलकपट, धुर्त्याई, चलवाजिहरुलाई मुक्तकण्ठले प्रसंसा गरेको पाईन्छ। उनीहरुलाई थाहा छैन अन्तमा कच्चा वैधको मात्रा- यमपुरी यात्राको भडकालोमा आफु पनि जाकिन्छन।
ओलीका भजन मण्डलीका भनाई अनुसार अब ओलीले आफ्नो जीवनभर शासन गर्ने छन् किनकी राष्ट्रपति आफ्नो अनुकुल, संबैधानिक निकायहरु आफ्नै खटन-पटनमा चल्ने हुदा ओलीलाई कसैले छुन सक्दैन। आवस्यकता अनुसार ज्यानमुद्दा, क्याण्टोनमेण्टको फाईल र ललीता निवासका फ़ाईलहरु निस्कने छन्। त्यतीले मात्र पुगेन भने कुनै आदेश वा अध्यादेसबाट संविधानको रक्षार्थ संकटकाल सम्ममा जानेछन। सत्ता र शक्तिले भरीपूर्ण ओली सरकारले रुद्रीको प्रसाद जसरी नियुक्तिहरु बाड्दै जाने छन्। ओलीले बितरण गर्ने प्रसाद ग्रहण गर्न लोभीपापीहरुको लाईन लाग्ने छ र प्रसाद ग्रहण गर्दै ओलीको जयजयकारको नाराले नेपाल गुन्जयमान हुने छ। प्रतिनिधिसभा विघटन लाई सर्वोच्चबाट सदर भै आएपछी संविधानको रक्षार्थ सडकमा देखिने मनुवाहरुको ढाड भाचिने छन।
आफ्नो झन्डै दुईतिहाईको संसद हुदा त त्यही संसद भंग गर्ने ओलीले आफुले नजित्ने चुनाव गराउदछ्न र संसदीय लोकतन्त्रको रक्षा गर्दछन भन्ने कुरा ओलीकै भित्रियाहरुलाई समेत विश्वास छैन। त्यसैकारण निर्भिग्न सत्ता र शक्तिमा दोहनको मौकाको उत्सव मनाईरहेका छन्। उता नेपाली काग्रेसका सभापति शेर बहादुर देउपा दिनभरी ओलीको पिडीमा बसी संबैधानिक नियुक्तिमा भाग-बिलोको किच किच गर्दछन र साझमा जोतिषीकोमा प्रधानमन्त्रीको जोखान हेराउन पुग्दछन। जोतिषीले प्रधानमन्त्री हुने योग छ भन्दियो भने आफैले मात्र बुझ्ने गरी “प्रजातन्त्रमा जनमतको कदर गर्नु पर्दछ” भनी धुलो जमेको चुच्चे टोपी निकाल्ने पक्का छ। ओली वा शेर बहादुरहरुको तजबिजमा परिभाषित हुने र विद्यादेवीहरुले अनुमोदन गर्दिने प्रजातन्त्र वा लोकतन्त्रले समाजवाद उन्मुख व्यबस्थाको आशामा जिउनु पर्ने हामी नेपालीको नियती बनेको छ।
सर्वोच्चबाट प्रतिनिधी सभा पुनर्स्थापना भएन र चुनाव हुने भयो भने पनि चुनावबाट आउने भनेका यीनै र यस्तै हुन। हामीले भोट हाले पनि भोट नहाले पनि संसदीय ब्यबस्थामा जित्ने भनेका पद, पैसा र परिवारका वरिपरिका नै हुन्छन। फेरी उही स्थाई सरकार, सम्मृदी, सुशासन र भष्ट्राचारमा सून्यसहनशिलता जस्ता फेरिह्स्त आउने छन्। नयाँ नयाँ सपनाका खेतीहरु हुनेछन। पानी जहाज, रेल, मेट्रो, घरघरमा ग्यास, रोजगार जस्ता खेतीको लागि फेरी बन फडानी हुनेछन। रक्सी, मासुको खपत बढ्ने छ र रागा, भैसी, बोइलर कुखुरा र बोकाहरुको मूल्य बढने छ। केही थान नयाँ लारकयाङ्गहरु आउने छन्। बादलको आकारलाई स्थाई हो भनी विश्वास गरी यो वा त्यो गुट वा समुहमा हाजिरी हुनु नेपालीहरुको विडम्वना हो।
झन्डै दुई-तिहाइको सरकार हुदा देश र जनताको हितमा के कति काम भयो त्यो सबै जन-जाहेर छ। एमाले र माओवादी मिलीभगत पछि देश र जनताको कायापलट हुने गुड्डी हामीले देख्दै र सुन्दै आएकै हो। कोरोनाको महामारीमा पटपटी फुटेका खाली खुट्टाका कुर्कुच्चाबाट धरधरी रगत बगाउदै लालावाला सहित सयौ किलोमिटर यात्रा गर्ने मजदुर, भोकभोकै किर्तिपुर सडक पेटिमा मृत्य वरण गर्न बाध्य धादिङ्गका वृद्द सुर्यबहादुर, कोरोनाको उपचार गर्न नसकेर सडकमै मृत्यु भएका उदयपुरका युवा हरि राई, दयालु मनहरुले खाना खुवाउदा खुवाउदै काठमाडौँमा लखेटिएका दुखी जनहरुले भोगेको समाजवाद उन्मुख अर्थ ब्यबस्थाको सक्कलीरुप देखिएकै हो। कृषकले आफ्नो श्रम, पसिनाले उप्जाएको उखुको मूल्य भूक्तानीको लागि बर्षौ सम्म रोईकराई, हार-गुहार, बिन्तिभाव गर्दा पनी नदुख्ने हाम्रो ओली सरकार कसको पक्षमा छ र गरिव प्रति कति निठुरी र नालायक रहेछ त्यो हेर्न कुनै दुर-दराज बस्तीमा जानै पर्दैन माईतिघरमा नै प्रष्ट देखिन्छ। खेति गर्ने बेलामा मल दिदैन, बिक्रि गर्न बजारमा दलाल र बिचौलियाहरुले बाटो दिदैनन, एउटा कुखुराको चल्लामा समेत कर असुली गरी आउने समाजवाद कस्को लागि हो सहजै अनुमान गर्न सकिन्छ। हाम्रो सिंहदरवार, बालुवाटार र शितलनिवास मध्यरातमा बिदेशी जासुस र राजदुतहरुले छापामारशैलीमा आगमन हुने गर्दछ।
के नेपालीको स्कुवाभिमान कुनै मन्दिरमा झुण्डाईएको घन्टी हो जसले जुनसुकै बेला जसरी मनलाग्यो उसैगरी बझाउन पाउने?
बृहत शान्ति सम्झौता पछी कहिल्यै भुई नटेकेका प्रचण्डलाई सडकमा आउन बाध्य गराउने यो संसद बिघटनको पुनर्स्थापना वा निर्वाचनले देशमा दिगो शान्ति, स्थिरता र सम्मृदी सम्वभ छ? नेपालको अनुभवमा शासन ब्यबस्था भन्दा पनी शासनमा जाने व्यक्तिहरुको नियत, वर्गीय धरातल र स्वार्थले निर्देशित गरेको पाईन्छ। जनताको शक्ति शक्तिमा भएका मानिसहरुको भन्दा शक्तिसाली हुन्छ। जब जनताको आक्रोस सडकमा पोखिन्छ तव मै हु भन्ने तानासाहहरुको उठिबास निश्चित हुन्छ।
अत: सबैखाले पक्ष्यगामी हर्कतको दृढतापूर्वक सामना गर्दै समावेशी, सहभागीमुलक र समतामुलक समाज र राष्ट्र निर्माण आजको आवस्यकता हो। नेपालीलाई संविधानको धारा भन्दा पनी सुद्द पिउनेपानीको धारा आजको आवस्यकता हो। पानीको भुटुनले तिउन मिठो हुदैन र परम्परागत संसदीय व्यवस्थाले भुईमानिसको कल्याण गर्दैन भन्ने कुरा हाम्रो अनुभवले सिद्द गरि सक्यो। हाम्रो निर्वाचन प्रणालिमा प्रतत्क्ष निवाचित कार्यकारी रास्ट्र प्रमुखको ब्यबस्था, साक्षि किनारा मात्र हुने रास्ट्रपती लगायत सलामी खाने र भत्ता पचाउने पदहरुको खारेजी, “नो भोट” को ब्यबस्था हुन जरुरी छ। उमेद्द्वारको योग्यता, उमेर हद, निरोगिता जस्ता न्युनतम सर्तहरुबाट केही हद सम्म ढोगी र रोगीहरुले शासित हुनबाट देश र जनता जोगिन सक्दछ।
प्रतिक्रिया दिनुहोस