हिजो जस्तै लाग्छ त्यो कालो दिन तर आज २२ वर्ष पूरा भएछ । ती दिनहरूमा हामीले, हाम्रो परिवारले थुप्रै यातना भोगेका छौं । चाहे बुबालाई गुमाउँदाको पिडा होस् वा समाजले गरेको तिरस्कार सबै भोगेऔं । जनयुद्द सुरु हुनुभन्दा अगाडि मेराे बुबा सल्यानकाे कालाखेतमा ब्यापार गर्नुहुन्थ्यो । गाउँमा टाँठा बाँठा भनौंदाहरुले मनपरी गर्न थालेको र त्यही समयमा रोल्पाबाटै जनयुद्ध सुरु भएकाले राजनीतिमा प्रवेश गर्ने चासो गर्नुभएछ ।
बाबाको धेरै साथीहरु घरमा आउनु हुन्थ्यो । मेरो काका पनि जनबादी कलाकार हुनुहुन्थ्यो । दिनभर पार्टीको छलफलहरू हाम्रै घरमा हुने गर्दथे । समय यसरी नै बित्दै थियो बाबा पूर्णकालीन भएर मुक्ति या मृत्युको लडाइँमा भुमिगत भईसक्नु भएको थियो । यत्तिकैमा बुबाको जिम्मा पार्टी सेल सेक्रेटरी भै भूमिगत गतिविधिहरूलाई सञ्चालन गर्नेमा थियो । जुन संकटकालीन समयलाई हेर्दा निकै नै कठिन र जोखिमपूर्ण थियो । त्याे बेला ४/५ जना सँगै हिंड्न मिल्दैनथ्यो ।
शंकाको आधारमा नै कयौं निर्दोषहरू माथि गोलि हानिन्थ्यो। हिरासतमा चरम यातना दिने गरिन्थ्यो । बाबाको साथीहरू दिनहुँ जसो नै घरमा खाना खान आउने गर्नुहुन्थ्यो । कहिलेकाहीँ बाबा पनि आउनहुन्थ्यो । प्राय राती मात्रै आउने गर्नु हुन्थ्यो । यतिकैमा एक साँझ प्रहरीले घर घेरा हालेर बिहान ४ बजेतिर बाबालाई दाहिने खुट्टामा दुईवटा गोलि हानी त्यहाँ बाट घिसार्दै लतार्दै सुखाओढार सम्म पुग्दा भेटिने पुलबाट खोलामा खसाल्ने, शरीरमा चक्कु र बिलेडले चिर्ने लगायतका कठोर यातना दियो रे ।
त्यसपछि बुवालाई भेट्न् भनि घरबाट कोहि निस्किन सक्ने अबस्था थिएन । यदि कोहि गैहालेमा त्यसलाई पनि आतंककारीको आरोपमा यातना दिने देखि मार्नेसम्मका क्रियाकलाप हुन्थे । केही गर्न नसक्ने हामी रुनुको विकल्प थिएन, रोयौं आँसु नरोकिन्जेल ! केही दिनपछि थाहा भयो प्रहरीले घर्तीगाउँ पुर्यायो अनि हप्ता दिनपछी मारेको खबर आयो । त्यही पीडा सहन नसकी बदलाको भाब मनमा लिदै त्यसको केही बर्ष पछि आमा पनि पुर्णकालिन कार्यकर्ता भै काम गर्दै गर्दा खराब स्वास्थ स्थितिका कारण मृत्यु बरण गर्नुभयो ।
बुवा बितेको घाउ नपुरिदै हामीबाट आमा पनि टाढा हुनुभयो । सबैले सम्झाउदै हुनुहुन्थ्यो नरोउ भनेर तर मनले कहाँ मान्थ्यो र ? अरुलाई सान्त्वना दिनु र आफूले उक्त पिडा भोग्नु मा निकै अन्तर छ । जति नै वर्गसंघर्ष को कुरा गरेपनि, सर्बहाराको कुरा गरेपनि, मालेमावादी कुरा गरे पनि अरु सहिद हुँदा सम्झाउन जति सजिलो हुन्छ उक्त कुरा आफुले भोग्न निकै नै कठिन हुँदो रहेछ। आज त्यही पिडा भोग्दै गरेर २२ बर्ष पुगेको नि थाहा नै भएन् ।
अझै पनि हामीलाई बाबा आमालाई गुमाएको प्रति केही पीडा छैन् । किनभने हाम्रो बाबा मरिन्छ भन्ने जानीजानी बहादुरीपुर्वक मृत्युलाई अंगाल्नुहुने महान शहीद हुनुहुन्छ । आज महान शहीदका सपनाहरु जस्तै नयाँ सपना बोकेर क्रान्तिमा होमिएका हजारौं बाबाहरुले आफ्नो ज्यानको आहुति दिएका छन। तर दुःख यो कुरामा लाग्छ कि ती नेतृत्व कर्ताहरुले आज शहीदहरुको सपनामाथि होली खेलिरहेका छन् । शहीदको नाममा राजनीति गरिरहेका छन ।
हिजो चप्पल लगाउने हैसियत नभएकाहरु आज काठमाडौंमा बंगला किनेर राजशैलिमा जीवन बिताइरहेका छन् । हिजो साइकल किन्ने हैसियत नभएकाहरु आज पजेरो, ल्यान्ड क्रुजर चढने भएका छन । बुर्जुवा शिक्षा बहिस्कार गरौ भन्नेहरु आज उनीहरूकै छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया जस्ता देशहरुमा रमाइरहेका छन् । हिजो संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नेहरु आज आफै त्यही ब्यवस्थामा लिप्त छन् ।
हिजो सामन्तवादका विरुद्ध निरन्तर लड्नुपर्छ भन्नेहरु आज आफै सामन्ती बनेका छन । हिजो तास खेल्ने, रक्सी खाने लाई जिउँदै खाल्डोमा पुर्नेहरु आज आफै नै तास खेलेर जाड खाएर सामाजिक संजालमा हाल्न ब्यस्त भएका छन् । सहिदहरु हाम्रो आदर्शको पात्र हुन भन्नेहरु आज दलालहरुलाई आदर्श मान्दै हिडिरहेका छन । जे होस आजको दिनसम्म आउँदा सिर्फ नेताहरु बिग्रिएका छन । सहिद सधै महान नै हुनेछन् ।
आज हाम्रो बाबा कमरेड दुर्गे ओली (जुनकीरी) सहादत भएको २२ औं स्मृति दिवस हाे । हामी कमरेड जुनकीरी लाई विशेष स्मरण गर्छौ यो बेला । दलाल व्यवस्थाको नाइके बन्नेहरु र तिनका पुच्छरहरु जो बडे दलाल र छोटे दलालमा अग्रगामी छलाङ हाने, जनयुद्धताका विभिन्न तहका नेताहरूको लर्को लाग्ने सहिद दुर्गेको घर अचेल सुनसान छ । नेताहरू दलालहरुको कित्तामा उभिएपछी सहिदहरुका घर यस्तै सुनसान छन। सहिद परिवारहरु सहारा विहिन भएका छन् ।
तरपनि हामि सहिद परिवारहरूलाई विगतको जनयुद्धप्रति गौरव छ, जुन जनयुद्धलाई नेताहरु सम्झन पनि चाहन्नन् । नत उनिहरुलाई जनयुद्धप्रति गौरव नै छ । हुनत जनयुद्धलाई अरबौं रुपैयाँ र दलाल सत्ताको कुर्सीको लोभमा साट्ने जुवाडेहरुलाई गौरव किन नै हुन्थ्यो र ?
हामी सहिद परिवारहरुलाई देशमा प्रतिक्रान्ति भएकोमा, जसले टाउकोको मोल तोक्यो उनिहरुको भिडमा रक्सी भोज गरेकोमा, जनयुद्धका सहिदहरुलाई राज्यबाट सहिद घोषणा नगरिनुमा बरु द्वन्द पिडित भनिनुमा, घाइते अपाङ्गहरु मागेर खाने स्थिति हुनुमा निकै द्रवीभूत बनाउँछ । गद्दारहरुप्रति घृणा जागेर आउँछ । तरपनी क्रान्ति वा वर्ग संघर्ष निरन्तर हुने प्रक्रिया हो ।
एकाध केही साना उपलब्धिहरुलाई भजाएर जनतालाई कथित परिवर्तनको भ्रम दिन बन्द गरे हुन्छ । क्रान्ति कसैले रोकेर रोकिने गाडी होइन किनकि यो समाज विज्ञानको शाश्वत नियम हो । जसले अधुरो सपनालाई पुर्णता दिने चेस्टा गर्छ हामि होस्टेमा हैँसे गर्ने नै छौं । सायद यहि नै महान सहिदहरुप्रतिको उच्च सम्मान हो ।
कमरेड जुनकीरी प्रति हार्दिक श्रद्धाञ्जली ।
लेखक शहिद दुर्गे ओली (जुनकीरी)का छाेरा राेल्पा गंगादेव ३ लाेरिबैनी निवासी आनन्द ओली र तेजविक्रम ओली हुन् ।
प्रतिक्रिया दिनुहोस