दाङमा विप्लव नेकपाद्वारा निर्मित कोरोना बिरामी कुरुवा प्रतीक्षालय हस्तान्तरण


जेठ २२, दाङ । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी दाङले निर्माण गरेको कोरोना सङ्क्रमित विरामी कुरुवा प्रतीक्षालय आज कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ । नेकपाका केन्द्रीय सदस्य, दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शीतलले हस्तान्तरण कार्यक्रमको ब्यानर पढेर प्रतीक्षालय हस्तान्तरण गरेका हुन् ।

प्रतीक्षालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शीतलले प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड दिन आग्रह गरे । उनले कोरोना सङ्क्रमणको विषम परिस्थितिमा प्रतीक्षालयले बिरामी कुरुवाका लागि राहत प्रदान गर्ने बताए । कोरोनाका कारण हजारौँ नागरिकले ज्यान गुमाउँदासमेत सरकार राज्यसत्ता जोगाउने घिनलाग्दा खेलमै केन्द्रित रहेको उनको भनाइ थियो ।

उनले भने, ‘राष्ट्रघात र जनघात रोक्न संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना निर्विकल्प उपाय हो ।’ उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु नै सबैखाले सङ्कटको समाधान हुने धारणा राखे ।

कार्यक्रममा कोरोना बिशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीले प्रतीक्षालय निर्माणकार्यले नेकपा जनताप्रति उत्तरदायी पार्टी रहेको प्रमाणित भएको बताए । निर्धारित समयभन्दा पहिले नै निर्माणकार्य सम्पन्न गरी हस्तान्तरण गरेकोमा उनले पार्टीलाई धन्यवाद पनि दिए ।

प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदमप्रसाद न्यौपानेले कोरोना अस्पताललाई आवश्यक रहेको प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिए ।

प्रतीक्षालय निर्माणमा नेकपाका नेता–कार्यकर्ताले श्रमदान गरेका थिए भने व्यवसायी रामबहादुर खड्का, राजु थापा, गणेश इँट उद्योगका भीम, हनुमान इँट उद्योगका मोहन, देव गुरुङ, हरि केसी, असोद देवकोटा, ट्रस्ट जडानमा दुर्गा, टोपबहादुर, अन्जनलगायतले आवश्यक निर्माण सामग्री सहयोग गरेका थिए । प्रतीक्षालय निर्माणका लागि एक लाख तीस हजार रुपैयाँ लगानी भएको जानकारी युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलकले दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सविन, बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर, विशेष समिति सदस्य विक्रम, मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह, प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्टराई, संस्कृत विश्वविद्यालय कर्मचारी व्यवस्थापन समितिका सदस्य विनय पोख्रेल र प्रेम खड्काको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कोरोना बिशेष अस्पताल बेलझुन्डीले प्रतीक्षालय निर्माणको उच्च प्रशंसा गर्दै जिल्ला पार्टीलाई सम्मान पत्र प्रदान गरेको छ।

नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपको अध्यक्षतामा सम्पन्न कार्यक्रम युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले स्वागत मन्तव्य र पार्टी जिल्ला समिति सदस्य मनोजले सञ्चालन गरेका थिए ।

२२ जेष्ठ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको