बादलको ठाउँमा हुने उपनिर्वाचनमा खिमलाल देवकोटा उम्मेदवार


वैशाख २२, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलले खिमलाल देवकोटालाई राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनाउने भएका छन्।

माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देवकोटालाई राष्ट्रिय सभा उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने सहमति भएको छ।

उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्नुपर्नेछ। बागमती प्रदेशबाट २०७४ सालमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा रामबहादुर थापा बादल निर्वाचित भएका थिए। बादल नेकपा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो।

उक्त पद रिक्त भएपछि जेठ ६ मा उपनिर्वाचन हुँदैछ। एमालेले बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ। बादलविरूद्ध विपक्षी दलले देवकोटालाई प्रतिस्पर्धामा उतार्न लागेको हो।

देवकोटा कुन चुनाव चिन्हबाट उठ्ने भन्ने टुंगो भइसकेको छैन। पार्टीकै चुनाव चिन्ह वा स्वतन्त्रबाट उठ्ने भन्ने निर्णय हुन बाँकी छ।

ओलीविरुद्ध गठबन्धन बनाएर बागमती र लुम्बनी प्रदेशको एकएक सिटका लागि हुने उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने सहमति यो समूहले गरेको छ। बागमती प्रदेशबाट देवकोटालाई उम्मेदवार बनाउने निश्चित भए पनि लुम्बिनी प्रदेशको उम्मेदवारको टुंगो लागेको छैन।

२२ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको