काठमाडौंमा सेनाले १ हजार शय्याको अस्पताल बनाउने निर्णय

फाइल तस्बिर

बैशाख २१, काठमाडौँ । सरकारले नेपाली सेनामार्फत काठमाडौं उपत्यकामा १ हजार शय्याको अस्थायी संरचनाको अस्पताल बनाउने घोषणा गरेको छ । कोरोना संक्रमितले अक्सिजनसहितको अस्पताल नपाउँदा ज्यान गुमाइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सोमबार गरेको सम्बोधनमा शय्या नपाउने समस्या टार्न नेपाली सेनालाई राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातै प्रदेशमा १/१ हजारको दरले होल्डिङ सेन्टर र काठमाडौंमा १ हजार शय्याको अस्पताल बनाउन लागिएको बताए ।

‘प्रदेशमा होल्डिङ सेन्टर र अस्पताल जेमा पनि प्रयोग गर्न सकिने गरी बनाउन लागिएको हो,’ उनले भने । शय्या नपाएर नेपालगञ्ज र दाङमा अस्पतालबाहिरै उपचार गराउन थालिएको छ । काठमाडौं उपत्यकामा सरकारले तोकेको कोभिड वार्ड भरिएपछि सर्वसाधारणले महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता छ ।

सरकारी अस्पताल र सरकारले कोभिडका लागि भनेर तोकेको निजी अस्पतालमा बेड पाउन मुस्किल छ । ठूला निजी र मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार गराउन सकिएको छैन । प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताललाई कोरोना अस्पतालका रूपमा विस्तार गर्ने घोषणा गरेका छन् ।

काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई पनि कोभिड अस्पतालका रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । काठमाडौं उपत्यकामा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका सम्बन्धनप्राप्त ४ वटा मेडिकल कलेज छन् ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले पनि प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालका रूपमा र साना अस्पताललाई ननकोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने बताए ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट स्थापना गरिने प्रधानमन्त्री ओलीले घोषणा गरे । स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरि ३० वटा मात्रै अक्सिजन प्लान्ट छन् । १ नम्बर प्रदेशमा ४, २ नम्बरमा १, बाग्मतीमा १३, गण्डकीमा ५, लुम्बिनीमा ३, कर्णालीमा १, सुदूरपश्चिम प्रदेशमा ३ वटा अक्सिजन प्लान्ट छन् ।

‘सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने छ,’ ओलीले सम्बोधनमा भने, ‘लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने छ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिनेछ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।’

ललितपुरको पाटन अस्पतालमा अक्सिजन प्लान्ट छैन तर दैनिक ३५० भन्दा बढी सिलिन्डरको जोहो गरेर संक्रमितलाई अक्सिजन दिने गरिएको छ । ‘कोरोनाको अघिल्लो वेभमा बढीमा ३०० लागेकामा अहिले ३६० सिलिन्डरसम्म खपत हुने गरेको छ,’ उनले भने । भेन्टिलेटर र अक्सिजनकै अभाव भएर कतिपय संक्रमित निजी अस्पतालमा भर्ना हुने गरेका छन् ।

काठमाडौं उपत्यकामा भेन्टिलेटर भएका साना तथा ठूला अस्पतालमा कोरोना संक्रमितको उपचारबापत दिनहुँ १ लाख रुपैयाँसम्म असुलेको गुनासो मन्त्रालयमा पुगेको छ । मन्त्रालयले निजी अस्पताललाई सरकारले तोकेको शुल्कको ५० प्रतिशतसम्म मात्रै बढी शुल्क लिन पाउने गरी सम्झौता गरेको जनाएको छ । मन्त्रालयले भेन्टिलेटरमा राखेका संक्रमितको बढीमा १५ हजार रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार निजी अस्पतालले ३० हजारभन्दा बढी लिएमा कालोबजारी गरेको ठहरिने मन्त्रालयले जनाएको छ ।

‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ, कुनै अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ,’ प्रधानमन्त्रीको सम्बोधनमा छ ।

संक्रमित बढ्दै गएपछि सरकारले सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघरलगायत संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टाइन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको व्यवस्था गर्ने घोषणा गरेको छ ।

संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिरलगायत औषधिको अभाव हुन नदिन सरकार लागिपरेको प्रधानमन्त्रीले जनाए । तर, सर्वसाधारण महंगोमा लुकीछिपी किन्न बाध्य छन् । कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताए । ‘यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

२१ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको