विप्लव नेकपाका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर


फागुन २०, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनीष्ट पार्टीबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

बिहीबार नेपाल सरकार र विप्लव समूहबीचको वार्तापछि पक्राउ परेका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

‘जिल्ला प्रशासन कार्यालयको कार्य क्षेत्रभित्र पर्ने मुद्दा छन् भने त्यसलाई प्रक्रिया पुर्‍याएर भोलिसम्ममा छाड्ने भन्ने छ,’ उनले भने।

मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर पठाइएको उनले बताए । ‘प्रशासन कार्यालय बाहेक अन्त मुद्दा रहेको हकमा विवरण मागिएको छ । विवरण प्राप्त भएपछि के कसरी कुन प्रक्रियाबाट गर्न सकिन्छ त्यो गर्नेछ,’ उनले भने।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव नेकापाका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव नेकपाका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

२० फाल्गुन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको