घनश्याम भुषाल र शंकर पोखरेलबीच सिंहदरबारमा छलफल


फागुन २०, काठमाडौं । दुई खेमामा विभाजित नेकपाको शीर्ष नेताहरुबीच सम्वाद टुटेका बेला ओली समूहमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भेट्न सिंहदरबार पुगेका छन् ।

संसद सचिवालयको एउटा कोठामा दुई नेताबीच झण्डै पौने घण्टा कुराकानी भएको छ । नेकपाको एकता जोगाउनुपर्छ भन्ने मत राख्ने दुई नेताले एकअर्कालाई ‘भेटौं, कुराकानी गरौैं’ भन्दै आएका थिए । मुख्यमन्त्री पोखरेल बिहीबार नै बुटवल फर्किने तयारी थिए । त्यसअघि भुसाललाई भेटेका हुन् ।

स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् । पार्टी एकता जोगाउनुपर्छ भन्नेमा पनि दुबैको समान धारणा छ ।

तर कसरी भन्नेमा सहमति छैन । भुसाल निकट एक नेताका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बल्ल पार्टी एकता जोगाउन उपायबारे छलफल गर्न सकिने धारणा राख्दै आएका छन् ।

तर पोखरेलले राजीनामाबारे बोलेका छैनन् ।

ओली समूहका नेता पोखरेलसँग भएको भेटबारे सोध्दा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भुसालले नियमित भेटघाट भएको प्रतिक्रिया दिएका छन् । ‘संसद विघटन भएपछि जोसँग भेट हुन्छ, ब्यूँताउनुपर्छ भनेर छलफल गरेको थिएँ’ उनले भने, ‘अहिले पनि विकल्प सोच्न तयार हुनुस् भन्ने गरेको छु ।’

२० फाल्गुन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको