‘देश कमेडीले होइन, सोचले चल्छ प्रधानमन्त्री ज्यू’

फाइल तस्बिर

पुस २०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन जघन्य राजनीतिक अपराध भएको बताएकी छन्।

सोमबार चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले असंवैधानिक तवरबाट संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जघन्य अपराध गरेको बताएकी हुन्।

‘बाँचुञ्जेल शक्तिमा रहन संसद विघटन भयो,’ उनले भनिन्, ‘संविधानले यो अधिकारै दिँदैन। संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ।’ उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसत्तावादी भएको उल्लेख गर्दै त्यसविरूद्ध लाग्न सबैलाई आह्वान गरिन्। झाँक्रीले संसद पुनःस्थापना भएपछि संसद विघटन गर्नेहरुको हिसाबकिताब गर्ने समेत बताइन्।

अर्को प्रसंगमा उनले प्रधानमन्त्री ओलीले सोचले नभई कमेडीले देश चलाउन खोजेको आरोप लगाइन्। ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले होइन सोचले बन्ने हो’ उनले भनिन्,‘देशका सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन।’ उनले अनैतिक तवरबाट सत्तरी करोडको डिल गर्नेलाई काखमा च्यापेर भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको टिप्पणी गरिन्।

२० पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको