नारायणगढ–मुग्लिन सडकमा पहिरै पहिरो, ठूलो संख्यामा यात्रुको बिजोग


असार १९, काठमाडौँ । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि बन्द छ।

बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो।

शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक खुलाइएको २ घण्टा निबित्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले बताए।

त्यसपछि पुनः चारकिलो र पाँचकिलोमा पहिरो खसेको हो। नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षमा पहिलोपटक पहिरो खसेको हो।

उनले भने, ‘मैले यो सडकमा काम गरेको ६ वर्ष भयो। पहिलो पटक यहाँ पहिरो खसेको हो।’ सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ।

पहिरो रोकिएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भए पनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ। चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो।

सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा ब्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय (चितवन) का प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सडक बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र खुलाउन सकिएको बताउँछन्।

मुग्लिननजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनले बताए। सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा विवाहलगायत अत्यावश्यक काममा निस्किएका मानिस समस्यामा परेका छन्। ठूलो संख्यामा सवारीसाधनमा आएका यात्रु सडकमै बिचल्लीमा परेको उनले जानकारी दिए।

शुक्रबार बेहुली लिन हिँडेका बेहुलाहरूको बिचल्ली भएको सामूहिक तस्बिर सार्वजनिक भएका थिए।

यसैगरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक बन्द भएको छ। लेदो खसिरहेकाले सडक दुईतर्फी नै अवरुद्ध भएको थापाले जानकारी दिए। रासस

१९ असार २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको