बैशाख १९, काठमाडौं । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
आज आकस्मिक रुपमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा पनि प्रधानमन्त्री ओलीले यसबारे संकेत गरेका थिए। स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।
प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।
हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । बहुमत प्राप्त हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुनेछन्।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।
प्रतिक्रिया दिनुहोस