जेठ १८, काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका विवेकशिल साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ ।
गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचाररत उनको मंगलबार दिउसो ४ बजेर २५ मिनेटमा निधन भएको पुष्टि गरिएको हो ।
कोरोना संक्रमण पुष्टि भई विगत २ सातादेखि उनको उपचार भइरहेको थियो । यद्यपी सोमबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
गत जेठ १४ गते उनको उपचारका लागि गरिएको आर्थिक सहयोग आव्हानबाट शुभेच्छुकले ५० लाख हाराहारी सहयोग जुटाएका थिए ।
करिब एक दशकदेखि राजनीतिमा संलग्न उनि युवामाझ निकै लोकप्रिय नेता मानिन्थे । देश विदेशबाट लाखौं शुभचिन्तकले उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।
नेपालमा वैकल्पिक दलको खाँचो छ र त्यसलाई युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै थापाले फरक धारको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो । सो दलको तर्फबाट संविधानसभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ४ जना सदस्यहरू उठाइएको थियो ।
संविधानसभाको दोस्रो चुनावपछि कानुनी रूपमा दर्ता भएको यो दलपछि रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टीसँग एकीकरण गरेर विवेकशील साझा दल बनेको थियो ।
हेर्नुहोस् अस्पतालको बिज्ञप्ति:
प्रतिक्रिया दिनुहोस