जेठ १८, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङको तुलसीपुरस्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतिक्षालय बनाउने भएको छ। कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरूवाका लागि नेकपा दाङले प्रतिक्षालय निर्माण सुरू गरेको हो।
प्रतिक्षालयको शिलान्यास मंगलबार दिउँसो नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितल वलीले गरेका हुन्। वलीले कोरोनाविरूद्ध राज्यले प्रचारात्मक रूपमा केही गरे पनि मूलभूत रूपमा जनताप्रति उत्तरदायी ढंगले काम नगरको आरोप लगाए।
जनताको जीवनरक्षालाई बेवास्ता गर्दै राज्यले सत्ता लुछाचुडीको बेमौसमी बाजा बजाइरहेको भन्दै उनले आक्रोश पोखे। कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरुवालाई ओत लाग्ने कुनै संरचना नभएकाले आफूहरूले प्रतिक्षालय निर्माण गर्न लागेको उनले बताए।
प्रतिक्षालय निर्माणमा केही जनताप्रति उत्तरदायी व्यवसायीको सहयोग रहेको र पार्टीका नेता कार्यकर्ताको श्रमदानबाट निर्माण पुरा गरिने बताए।
‘यहाँ उपलब्ध सम्पूर्ण नेता–कार्यकर्ता पार्टीको लक्ष्य योजना अनुसार काममा खट्नुहुने छ र हामीले एक साता भित्रै यो प्रतिक्षालय निर्माण गरिसक्ने छौं,’ उनले भने। कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपानेले प्रतिक्षालय निर्माण भए बिरामीका आफन्तलाई ठूलो राहात मिल्ने बताए।
कोरोना अस्पताल नजिकै नेकपाले प्रतिक्षालय निर्माण गर्ने कार्य अत्यन्तै सकारात्मक र जनहितमा रहेको उनले बताए। कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह, बिप्लव नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिप वली, युवा संगठन नेपालका केन्द्रीय सदस्यद्वय तिलक योगी र वीरेन्द्र बिकलगायतको सहभागिता थियो।
प्रतिक्षालय निर्माण गर्न मंगलबार करीब २० जना नेकपाका कार्यकर्ताले श्रमदान गरिरहेका छन्। दैनिक त्यत्तिकै संख्यामा श्रममा खटिएर हप्ता दिन भित्र प्रतिक्षालय निर्माण गरिसक्ने उदेश्य रहेको जिल्ला सेक्रेटरी प्रदिप वलीले बताए।
प्रतिक्षालय निर्माण गर्न आवश्यक जस्ता पाता, फलामे डण्डी ब्यवसायीले सहयोग गरेको वलीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस