बैशाख १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार रहेको बताएका छन् ।
१३२ औँ श्रमिक दिवसका अवसरमा महासचिव विप्लवद्वारा शनिबार एक विज्ञप्ति जारी गर्दै श्रमिकहरू केवल उत्पादनका औजार नभएर समृद्धिका स्रोत रहेको र जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नैपर्ने उल्लेख गरेका छन् । साथै मई दिवसको सुखद अवसरमा संसारभरका श्रमिक वर्गप्रति हार्दिक शुभकामना प्रकटसमेत गरेका छन ।
‘आज आफ्नो अमूल्य श्रमद्वारा संसारलाई आधुनिक सभ्यता प्रदान गर्ने श्रमिक वर्गको गौरवपूर्ण श्रमिक दिवस १ मई हो । सर्वप्रथम यस सुखद अवसरमा संसारभरका श्रमिक वर्गप्रति हार्दिक शुभकामना प्रकट गर्दछौँ । श्रमिक वर्गको सारा उत्पादनलाई राज्यको बल प्रयोग गरेर आफ्नो खल्तीमा भर्ने पुँजीवादी लुटका विरुद्ध बलिदानीपूर्ण विद्रोह गरेर मात्र आजका श्रमिकहरूले मानवजीवन जिउने अवसर प्राप्त गरेका हुन् । परन्तु आज पनि संसारमा विशेषगरी नेपालजस्ता देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र छट्पटाइरहेको छ । एकाधिकारवादी निगम पुँजीवादी एवम् दलाल पुँजीवादीहरूले असीमित शोषण गरिरहेका छन् ।’, विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
विप्लवले उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार भएको बताउदै श्रमिकहरू उत्पादनका औजार होइनन् मात्र नभएर समृद्धिका स्रोत भएको बताएका छन् ।
जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नुपर्ने भन्दै उनले भनेका छन्- ‘नेपाल ऐतिहासिक रूपान्तरणको सम्भावनाबाट अघि बढिरहेको छ । यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको छ तर यसले आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौँ जालझेल गर्दैछ । नेपालका मजदुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ– आवश्यकता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ । यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।’
विप्लवले राष्ट्र परिवर्तन गर्ने यो ऐतिहासिक जिम्मेवारी बहन गर्न क्रान्तिकारी पूर्वजहरूको पदचापमा एकताबद्ध भएर निर्भीकतापूर्वक अगाडि बढ्न आग्रह गर्दै श्रमिक वर्गको संसारलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
हेर्नुस विज्ञप्ति
प्रतिक्रिया दिनुहोस