दाङ: ‘जिउँदो हुँदा मात्रै होइन, मृत्युपछि पनि सुख मिलेन’


बैशाख १८, काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाकी ६९ वर्षीया लक्ष्मी भण्डारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भयो । गाह्रो भएपछि बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल पुर्‍याइयो ।

गेटसम्म पुर्‍याइँदा भित्र शय्या नभएको जानकारी गराइयो । दुई घण्टा कुर्दाकुर्दै बिहान ९ बजे उनको मृत्यु भयो । ‘समयमै उपचार पाए ज्यान बच्थ्यो,’ उनका छिमेकी वीरबल खड्काले भने, ‘समयमै अक्सिजन चढाउन सकिएन । अस्पतालको पेटीमै छटपटिएर ज्यान गयो ।’

शव व्यवस्थापन गर्न नेपाली सेना आउँछ भन्दै दिनभर उनको शव पेटीमै राखियो । ‘सीडीओलाई फोन गरेपछि बल्लबल्ल दिउँसो सवा ३ बजे सेना आइपुग्यो,’ खड्काले भने, ‘जिउँदो हुँदा मात्रै होइन, मृत्युपछि पनि सुख मिलेन । यसरी उपचार नपाएर ज्यान जानु जस्तो विडम्बना अरू के हुन सक्छ ?’ हालसम्म कोरोना अस्पताल पुगेका भण्डारीसहित १३ जनाको ज्यान गइसकेको छ ।

३५ शय्या क्षमता भएको अस्पतालमा ४३ बिरामी छन् । तीमध्ये अन्यलाई बल्लबल्ल शय्या मिलाइएको र ६ जनालाई बाहिरै पेटीमा अक्सिजन जोडेर राख्नुपरेको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । कान्तिपुरमा खबर छ ।

१८ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको