पोखरा जाँदै प्रधानमन्त्री ओली

फाइल तस्बिर

फागुन १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

यसअघि शनिबारका लागि निर्धारण गरिएको प्रधानमन्त्री ओलीको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो ।

मध्याह्न १२ बजेपछि पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुने ओली यति एयरलाइन्सको विमानमार्फत विहान ११:४० बजे पोखरा पुग्नेछन् । त्यसपछि केहीबेर आराम गरेर उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।

पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले १ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा ओली समूहका गण्डकी प्रदेश सहइञ्चार्ज किरण गुरूङले जानकारी दिए ।

कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा उनले नवौं राष्ट्रिय खेलकुदको तयारीबारे पनि जानकारी लिनेछन् ।

२ बजेसम्म रंगशाला निरीक्षणको कार्यक्रम सकेर प्रदेशका पार्टीका शीर्ष नेताहरूसँग केहीबेर आन्तरिक छलफलपछि ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।

प्रतिनिधिसभा विघटनपछि चुनावी तयारी भन्दै देशदौडाहामा निस्किएका ओली फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटनमा निस्किएका छन् ।

आइतबार ओलीले गृह जिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर केही पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका थिए ।

१७ फाल्गुन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको