तारेखमा छुटे लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल


पुस १७, बुटवल । उखु किसानलाई भुक्तानी नदिएको भन्दै बिहीबार पक्राउ परेका पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन्।

किसानहरूको भुक्तानी नदिएको भन्दै अग्रवाललाई प्रहरीले बिहीबार वीरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पुर्‍याएको थियो।

अग्रवाल प्रहरी नियन्त्रणमा परेलगत्तै उद्योगले किसानहरूको भुक्तानी सुरू गरेको थियो । पहिलो चरणमा २ करोड बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक रूपमा ३० देखि ४० लाख रुपैयाँ किसानहरूलाई इ–सेवामार्फत् भुक्तानी सुरू गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका अग्रवालले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र उद्योगको नामसारी लगायत ऋणको लागि सुरू गरिएको बैंकिङ प्रक्रिया पूरा गरेर किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई एक हप्ताको तारेख दिएर छाडिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । एक हप्ताभित्र प्रक्रिया पूरा गरेर भुक्तानी नगरे अग्रवाललाई कानुन अनुसार कारबाही थालिने पाठकले बताए।

उद्योगका सञ्चालक मनिष अग्रवालको मृत्यु भएपछि उद्योगको स्वामित्व अग्रवालकी श्रीमती सुशिला गोयलमा गएको थियो। अंशबण्डाका क्रममा उक्त उद्योग मनोज अग्रवालका नाममा परेको छ। उक्त उद्योगले करिब ७ सय बढी किसानको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

यता किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

१७ पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको