निरास भएर किन फर्कियो चिनियाँ टोली ? यस्तो छ भित्री कारण


पुस १६, काठमाडौँ । चिरिएको नेकपालाई ‘जोड्न’ हौसिएर आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विशेष टोली निराशाजनक सन्देश लिएर बुधवार बेइजिङ फर्किएको छ ।

४ दिने नेपाल बसाइका क्रममा टोलीले नेकपा मिलाउने हरतरहका प्रयास गर्‍यो । तर दुवै खेमाका शीर्ष नेताले मिल्नेभन्दा फुटको कारक एकअर्कालाई देखाएर पन्छिए ।

जाँदाजाँदै टोलीले दुवै पक्षलाई मेलमिलापको सानो सन्देश भने दिएको छ, ‘तत्काल नमिले पनि प्रतिनिधिसभा पुनःस्थापना भएन र निर्वाचनमा जाने अवस्था आयो भने सहकार्य गर्नोस् । नत्र नेपालबाट कम्युनिस्ट शक्ति लामो समयका लागि पछाडि धकिएला ।’

नेकपाकोे आन्तरिक कलहले प्रतिनिधिसभा विघटन भएको र पार्टीसमेत २ चिरा भएको उनीहरूको ठम्याइ छ । प्रतिनिधिसभा विघटन र नेकपामा आएको फुटले नेपाललाई थप अस्थिरतातर्फ धकेल्नेमा कुनै सन्देह नरहेको चिनियाँ पक्षको बुझाइ रह्यो । सोही ठम्याइ लिएर चिनियाँ टोली फर्किएको विश्लेषकहरूले बताएका छन् ।

कुनै पनि बहानामा नेकपालाई फुट्न दिन नहुने चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको ४ सदस्यीय टोली आइतबार काठमाडौं ओर्लिएको थियो । उपमन्त्री येचौले शीर्ष नेताहरूलाई थप विभाजित नहुन आग्रह गर्दै निर्वाचन जित्न मिलेर जानुको विकल्प नरहेको बताएका थिए ।

चिनियाँ टोलीले नेकपाका दुवै खेमाका अध्यक्ष सहितका शीर्ष नेताहरूसँग छलफल गरेको थियो । उपमन्त्री येचौसँगको छलफलमा दुवै खेमाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन र नेकपा विभाजनको प्रमुख दोषी एकअर्कालाई देखाए ।

उपमन्त्री येचौ नेतृत्वको टोलीले दुवै खेमाका प्रभावशाली नेतालाई भेटी प्रतिनिधिसभा पुनःस्थापना र नेकपालाई फुटबाट जोगाउन सकिने सम्भावनाका विषयमा गहन छलफल गरेको थियो ।

चिनियाँ टोलीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र उनी समूहका नेता विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङ लगायतसँग छलफल गर्‍यो । अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग पनि भेट्यो। सम्पूर्ण भेटपछि नेकपाभित्रकै किचलोका कारण यो अवस्था आएको र तत्काल नेकपा एक हुन नसक्ने निष्कर्षमा पुगेको निकट स्रोतले जनायो ।

पुनः एकताको आशालाग्दो ठाउँ नपाएपछि येचौ नेतृत्वको टोलीले दोस्रो वरीयताका नेताहरूसँग निर्धारित भेटघाट कार्यक्रम रद्द गरेको थियो ।

‘प्रतिनिधिसभा पुनःस्थापना हुने/नहुने विषय सर्वोच्च अदालतमा पुगिसकेको बताएपछि चिनियाँ पक्षले त्यसबारे थप कुरा गर्न चाहेन,’ ओली खेमाका एक नेताले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना होस् भन्ने चाहना चिनियाँ पक्षको रहेको पाइयो । तर हामीले चुनावको विकल्प नरहेको सन्देश दिएका छौं ।’

प्रतिनिधिसभा पुनःस्थापना नहुने र नेकपा समेत अलग–अलग पार्टीमा विभाजन भए नेपालमा थप राजनीतिक अस्थिरता निम्तिनेतर्फ चिनियाँ पक्षले शीर्ष नेताहरूलाई स्पष्ट सन्देश दिएका थिए ।

कुनै पनि बहानामा नेपालमा अस्थिरता उत्पन्न भए त्यसले आफ्नो मुलुकमा समेत असर गर्ने चिनियाँ पक्षको धारणा थियो । उपमन्त्री येचौ नेतृत्वको टोलीले नेपालमा अस्थिरता हुँदा भारत, अमेरिकालगायत पश्चिमा राष्ट्रले प्रभाव जमाउनुका साथै चीनविरुद्ध गतिविधि गर्न सक्नेतर्फ समेत दुवै खेमाका शीर्ष नेताहरूलाई सचेत गराएका थिए । तर फर्किएर जाँदा ठीक उल्टो अवस्था अनुभूत गर्दै राष्ट्रपति सीलाई त्यही सन्देश लगेको स्रोतले जनायो ।

राष्ट्रपति सीले कुनै हालतमा नेकपा फुट्न नहुने सन्देशसहित प्रतिनिधिसभा विघटन भएपछिको वास्तविक अवस्था बुझ्न टोली नेपाल पठाएका थिए । भेटका क्रममा टोलीलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दाहाल समूहले घेराबन्दीमा पारेर पार्टी विभाजनको संघारमा पुर्‍याएको आरोप लगाए। नेकपाका अर्को खेमाका अध्यक्ष दाहाल र नेपालले निरंकुश शैलीमा सरकार र पार्टी चलाएका कारण पार्टी एकता संकटमा आएको बताएका थिए ।

सीमा विवादका कारण कांग्रेससँग बिग्रिएको सम्बन्ध बनाउने प्रयत्नमा चिनियाँ टोली देखिएको छ । सभापति शेरबहादुर देवासँगको भेटमा उपमन्त्री येचौले कांग्रेस असल मित्र रहेको र चीनको भूमिकाप्रति थप शंका नगर्न आग्रह गरेको स्रोतले बताएको छ । उपमन्त्री येचौ नेतृत्वको चिनियाँ टोलीको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर छ । उनीहरूले नेपाली सुरक्षाकर्मीसमेत लिएनन् । तर प्रहरीले पछुवा गाडीको बन्दोबस्त गरेको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

१६ पुष २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको