कोरोना रोकथामका लागि विप्लव नेकपाको जनसेवा तीव्र


चैत १८, कालीकोट । नेकपा कालीकोटले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि आत्मानुशासनमा रही जनसेवाका लागि जनचेतनामूलक काम थाल्न र कृत्रिम अभाव उत्पन्न गरी हुने कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन दिएको छ ।

पार्टी जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपले सोमबार विज्ञप्ति जारी गर्दै जनसेवाका लागि जनचेतनामूलक काम र कृत्रिम अभाव उत्पन्न गरी हुने कालोबजारी नियन्त्रणमा लाग्न युवा सङ्गठन, जनवर्गीय सङ्गठन र पार्टी समितिलाई निर्देशन गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला विश्वले नै कोरोना भाइरसबाट निकै जोखिम मोलिरहेको छ । निकै ठूलो मानवीय क्षति बेहोर्नुका साथै लाखौँ मान्छे सङ्क्रमित छन् । करोडौँ सङ्ख्यामा नागरिकले सास्ती खेपिरहेका छन् । हाम्रो देश नेपाल पनि उच्च जोखिमसँग लडिरहेको छ । सङ्क्रमित बिरामी अस्पतालको शैयामा छन् भने सयौँ नागरिकले ठूलो सास्ती खेपिरहेका छन् ।’

यस्तै विज्ञप्तिमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरूको पीडा सुनिनसक्नु रहेको उल्लेख छ । कम्युनिस्ट नाउँको सरकार यो समस्याको उचित समाधानतर्फ गम्भीर भएर लाग्नुको सट्टा जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय यो समस्यालाई फेरि पनि अवसरका रूपमा प्रयोग गर्ने दाउमा देखिएको जनाइएको छ ।

राहत र उचित जाँचको अति हल्ला गरिरहेको भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै विज्ञप्तिमा खासमा स्थानीय निकाय जति क्रियाशील र जिम्मेवार देखिनुपर्ने हो त्यसो पनि नदेखिएको र प्रत्येक स्थानीय निकायले बिपत् व्यवस्थापन भनेर लाखौँ रकम छुट्ट्याएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यो कहाँ खर्च गर्ने हो, उनीहरुको कुरा हो । त्यहाँ पनि लुटिखाने सपना देखिरहेका छन् किनकि कालीकोटमा जति हेल्थ डेक्स र स्वास्थ्य चौकी छन् त्यहाँ स्वास्थ्यकर्मीलाई प्रयोग गर्ने मास्कसमेतको व्यवस्था छैन ।’

विज्ञप्तिमा भनिएको छ, ‘एक चक्की साबुनबाहेक सङ्क्रमितहरु र शङ्कास्पदलाई राख्ने क्वारेन्टाइन पायक पर्ने स्कुल घोषणा गरिएको छ । त्यहाँ अन्य कुनै व्यवस्था देखिँदैन सुरक्षाकर्मीहरू व्यक्तिगत व्यवस्थापनमै खटिरहेका छन् । यहाँ ध्यान कसैको छैन । यस्तो जटिल परिस्थितिमा सेवामा निरन्तर खटिरहने स्वास्थ्यकर्मी मित्रहरू र सुरक्षाकर्मी मित्रहरूलाई हाम्रो पार्टी विशेष आभारसहित धन्यवाद व्यक्त गर्दछ ।’

विज्ञप्तिमा सम्पूर्ण कालीकोटको पार्टी समिति आत्मअनुशासनमा रही जनसेवाका लागि जनचेतनामूलक काममा र कृत्रिम अभाव उत्पन्न गरी हुने कालोबजारी नियन्त्रणमा लाग्न युवा सङ्गठन, जनवर्गीय सङ्गठन र पार्टी समितिलाई विशेष निर्देशन गर्दै गाउँघरमा हुने जमघट, भोजभतेर र अन्धविश्वासको पछि नलागेर होम क्वारेन्टाइन र सरसफाइमा विशेष ध्यान दिई आफ्नो स्वास्थयप्रति गम्भीर रहन अपिल गरिएको छ ।

विज्ञप्तिमा मास्कबिना अनावश्यक हिँडडुल नगरी लकडाउनको पालना गर्न सम्पूर्ण कालीकोटबासी जनसमुदायलाई अपिल गर्दै आवश्यक स्वास्थ्य उपकरण र औषधी व्यवस्थापनका लागि नेपाल सरकारसँग जोडदार मागसमेत गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ…

१८ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको