चैत १८, काठमाडौँ । गत शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बाग्लुङकी किशोरीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसोलेसनमा शनिबार रातिदेखि नै उपचारमा रहेकी किशोरीको स्वास्थ्यमा राम्रो सुधार आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
आइसोलेसनमा रहेदेखि खाना खान मन नगरेकी उनले सोमबार भने राम्रोसँग खाना खाएको र मनोबल पनि बढेको पोखरेलले बताए ।
‘उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ । हामीले समय–समयमा परामर्श पनि गरेका छौँ,’ डा. पोखरेलले भने, ‘उहाँको स्वास्थ्यमा आएको सुधारले हामी उत्साहित भएका छौँ ।’ स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षण हुने भएको छ ।
परीक्षणका लागि सोमबार नै ती किशारीको स्वाब निकालिएको डा. पोखरेलले बताए । उनमा सुधारको संकेत देखिएकाले दोस्रो परीक्षणको नतिजा नेगेटिभ आउने अस्पतालले अपेक्षा गरेको छ । यस्तै अस्पतालले ती युवतीको परिवार र उनीसँगै आएकाहरूको पनि कोरोना परीक्षणका लागि नमुना संकलन गरेको छ ।
सोमबार स्वास्थ्य कार्यालय बाग्लुङ र धौलागिरि अञ्चल अस्पतालको छुट्टाछुट्टै प्राविधिक समूहले उनीहरूमा कोरोना परीक्षणका नमुना संकलन गरेको हो । स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हुँदै केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पुग्ने र नतिजा आउन दुई–तीन लाग्ने बताइएको छ । उनी ४ चैतमा फ्रान्सबाट कतार हुँदै कतार एयरवेजमार्फत नेपाल आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस