कोरोना भाइरसबाट २१३ चिनियाँको मृत्यु


माघ १७, काठमाडौं । चीनमा वुहान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ । चीनभरि उक्त भाइरसबाट ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्।

झन्डै एक महिनाअघि वुहानबाट सुरू भएको कोरोना भाइरस अफ्रिकाबाहेकका सबै महादेशमा देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्व आपतकाल घोषणा गरेको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा रोग फैलन सक्ने सम्भावना अधिक भएकाले डब्लुएचओले बिहीबार विश्व आपतकाल घोषणा गरेको हो।

यसअघि डब्लुएचओले कोरोना भाइरसका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था नभएको बताएको थियो। सन् २००५ मा डब्लुएचओलाई विश्व आपतकाल घोषणा गर्ने अधिकार दिएपछि आपतकाल घोषणा भएको यो छैठौं पटक हो।

‘हाम्रो सबैभन्दा ठूलो चासो कमजोर प्रणाली भएका र यसको मुकाबिला गर्ने राम्रो तयारी नगरेका देशहरूमा यो नफैलियोस् भन्ने हो,’ डब्लुएचओका महासचिव टेड्रोस अदानोम घेब्रेयेससले भने।

चीनबाहिरका धेरैजसो संक्रमितहरूले वुहानमा यात्रा गरेको वा त्यहाँबाट आएकाहरूसँग सम्पर्क भएर सरेको देखिएको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशमा यो भाइरस फैलियो भने कुन तहको क्षति गर्छ भन्ने हामी एकिन गर्न सक्दैनौं,’ उनले थपे।

डब्लुएचओले कोरोना भाइरस फैलिन सक्ने देशहरूले आवश्यक तयारी, संक्रमण फैलिन नदिन सही सूचना र भ्याक्सिन बनाउने क्रमलाई तीव्रता दिन पनि सुझाव दिएको छ तर यात्रा र व्यापारमा कडा प्रतिबन्ध लगाउनु आवश्यक नभएको उसको ठहर छ।

यसैबीच संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न भनेको छ भने कैंयौं एयरलाइन्सहरूले चीनका विभिन्न सहरमा आफ्ना उडान रद्द गरेका छन्।

१७ माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको