सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउने, यस्तो छ कारण


माघ १७, नयाँ दिल्ली । नेपालले आगामी चैत तेस्रो साताका लागि तय गरेको ‘सगरमाथा संवाद’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने भएका छन् । उनले नेपालको राजकीय भ्रमण गर्ने चाहना राखेपछि संवादमा सहभागी नहुने उच्च कूटनीतिक स्रोतले जनाएको छ ।

सगरमाथा संवादका लागि नेपालका तर्फबाट मोदीलाई निमन्त्रणा गरिएको पुष्टी गर्दै काठमाडौंमा परराष्ट्र स्रोतले भन्यो, ‘उहाँ (मोदी) को विभिन्न कार्यतालिका नियालेर मात्रै भ्रमण तय हुन्छ, संवादमा भन्दा पनि अन्य समयमा नै नेपाल भ्रमणमा होला ।’ संवादमा मोदी सहभागी नहुने भएपछि भारतबाट सकेसम्म उच्चस्तरकै सहभागिताका लागि प्रयास गरिरहेको परराष्ट्र अधिकारीले बताए ।

भारतीय प्रधानमन्त्रीको विदेश भ्रमणको निर्णय विभिन्न प्रक्रियापछि निर्धारण गरिने भएकाले उपयुक्त समयमा नेपालतर्फको सूची जानकारी गराइने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताए ।

उनका अनुसार फागुन लागेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले भारत भ्रमण गर्ने निधो भइसकेकाले त्यसबारेमा आवश्यक तयारी भइरहेको छ । ट्रम्पको भारत भ्रमण लगत्तै मोदी बंगलादेश जाने तयारीमा छन् ।

बंगलादेशका पूर्वराष्ट्रपति मुजिबुर रहमानको सयौं जन्मजयन्तीमा आयोजना हुने विशेष कार्यक्रमका मुख्यवक्ताको रूपमा मोदी त्यहाँ जान लागेका हुन् ।

उक्त कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुनेछन् । सोही जमघटमा मन्त्री ज्ञवालीले विशेष पहल गरेमात्र मोदीको नेपाल भ्रमण संभावना रहने परराष्ट्र अधिकारी बताउँछन् ।

नेपालले सगरमाथा संवादमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदीसहित सार्कका सबै राष्ट्र एवं सरकार प्रमुखका साथै अन्य मित्रराष्ट्रलाई पनि निमन्त्रणा गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

१७ माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको