निर्मला प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय


पुस १५, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बला त्कार तथा ह त्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ।

जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अदालतले सफाइ दिएपछि गृह मन्त्रालयले विष्टको पुनर्वहालीका लागि मन्त्रिपरिषदमा लेखी पठाएको थियो ।

फैसलासँगै विष्टले पुनर्बहालीका लागि प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए । प्रधान कार्यालयले उनको निवेदन गृह मन्त्रालयमा पठाएको थियो । फौजदारी न्याय प्रणालीमा सफाइ पाउनु कसुर स्थापित नभएको ठानिने हुनाले स्वत: न्यायका लागि अपिल गर्न सकिन्छ ।

विष्टसहित मुद्दा खेप्ने प्रहरीहरूमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद थिए ।

अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो । भट्टलाई पनि पुनर्वहाली गर्न मन्त्रिपरिषदले निर्णय गरेको ती मन्त्रीले बताए ।

२०७५ साउन ११ गते बिहान पन्तको श व बला त्कारपछि ह त्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका-१८ को उखुबारीमा फेला परेको थियो। उक्त बला त्कार-ह त्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।

प्रहरीले उक्त घटनामा ग म्भीर लापरबाही गरेको, प्रमाण नष्ट गरेको र यातना दिएको तथा त्यसबेला विष्ट र भट्ट कञ्चनपुरमा कार्यरत् रहँदा सो लापरबाही भएको भन्दै उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको थियो।

१५ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको