पुस १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन्।
बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका हुन।
बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताए।
उनले भने, ‘केपी ओलीले केही मान्छेहरुलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन त्यो भेला भनेको एउटा गुटको भेला हो। त्यो संविधान विरोधी भेला हो। त्यो लोकतन्त्र विरोधी भेला हो। त्यो अराजक मान्छेहरुको भेला हो। त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन्।’
आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बल,त्कार गरेको समेत वरिष्ठ नेता खनालले बताए। संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताए।
प्रधानमन्त्री ओलीमा देखिदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार अवस्थामा पुगेको बताए। उनले भने, ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन तर आज आफ्नै हस्ताक्षरलाई उनले बलत्कार गरेका छन्। देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरित उनले अहिले फेरी संसदको विघटन गरेका छन् । संसदको विघटन भनेको संविधानको विघटन हो। संविधानलाई प्वाल पार्ने काम हो। संविधानलाई विध्वंस गर्ने काम हो।’
देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरी प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको पनि वरिष्ठ नेता खनालले बताए। एक पटक संसद विघटन गरेपछि फेरी चुनाव भएपनि अव बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार राख्ने बताए।
एक पटकको नजिरमा टेकेर फेरीपनि यस्ता कदम आउने भएकाले संसद पुनरस्थापनाको विकल्पन नभएको पनि बताए। उनले भने, ‘अब मानिलिउँ वैशाखमा चुनाव भयो कुनैपनि बेलामा चुनाव भयो चुनाव भएर सरकार बन्यो भनेपनि कुनैपनि प्रधानमन्त्रीले यो संसद कुनैपनि बेलामा विघटन गर्न सक्छन्। अब यो नजिर हुन्छ। यदि यसलाई नजिरको रुपमा स्थापना गर्ने हो भने हाम्रो मुलुक जसरी विगत ५०-६०-७० वर्षसम्म अस्थिरताको सिकार भयो फेरी त्यो अस्थिरताको सिकार हुने दिशातर्फ अगाडि बढ्छ।’
रानीतिक दल सम्बन्धी ऐनको धारा ३३ अनुसार कुनैपनि दुई पार्टी मिलेर बनेको एकीकृत पार्टीलाई ५ वर्षसम्म फुटाउन नमिल्ने बताए। तर फुटाउनै पर्ने परिस्थिति भएपनि संसदीय दलमा र केन्द्रीय समितिमा ४०-४० प्रतिशत हुनैपर्ने बताए। अहिलेको नेकपामा ४० प्रतिशत पनि ओलीसँग नरहेकाले पार्टी फुटाउनै नसक्ने पनि वरिष्ठ नेता खनालले बताए।
नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले उग्रबामपन्थी र कहिले दक्षिण बामपन्थी भडकाउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भडकाउ भएको बताए। प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भर्याङ मात्रै बनाएको आरोप समेत लगाए।
राजा महेन्द्रले देशमा विभिन्न उद्योगधन्दाहरु निर्माण गरी समाजवादसँग मिल्दो काम गरेको तर समाजवादको नारा बोकेर हिँडेको कम्युनिष्ट पार्टीका नेता ओलीले प्रधानमन्त्री भएपछि केहीपनि काम गर्न नसकेको बताए। प्रधानमन्त्री ओलीले काम भन्दा धेरै गफ गरेको समेत बताए।
उनले भने, ‘धेरै गफ गर्ने, उखान टुक्काहरु हाल्ने, मान्छेहरुलाई लिने, घरघरमा ग्यास चुल्हो ल्याइदिन्छु भन्ने खै कहाँ आयो ग्यास चुल्हो । त्यहिं बालुवाटारमा पनि छ की छैन ग्यास चुल्हो । ग्यास पाइप।’
प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको पनि वरिष्ठ नेता खनालले बताए। ओली कम्युनिष्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको समेत बताए।
संसद विघटनको विषय अदालतमा विचाराधिन रहेपनि आफूहरुले अदालतलाई पर्खेर बस्न नसक्ने समेत वरिष्ठ नेता खनालले बताए।
उनले भने, ‘अहिले संघर्षमा जानुको हामीसँग कुनै विकल्प छैन । हामी अदालतले के गर्छ त्यो पर्खेर बस्न पनि सक्थ्यौं तर अदालतले गर्ने कुराहरु के हो भनेर पर्खिने अवस्था हामीलाई भएन । किनभने यो संविधान माथिको अत्यन्त ठूलो आक्रमण हो । संविधान माथिको आक्रमण, लोकतन्त्र माथिको आक्रमण हो । हाम्रो जीवन माथिको आक्रमण हो।’
प्रतिक्रिया दिनुहोस