‘खोप लगाएको एक सातापछि कोरोना संक्रमण’


पुस १५, वासिङटन । फाइजर बायोएनटेकले उत्पादन गरेको कोरोना खोप लगाएका एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

क्यालिफोर्नियाका ४५ वर्षीय नर्सलाई खोप लगाएको एक सातापछि नै संक्रमण पुष्टि भएको रोयटर्सले एबिसी न्यूजलाई उद्धृत गर्दै मंगलबार समाचार लेखेको छ।

दुई स्थानीय अस्पतालमा कार्यरत मात्थ्यू डब्लूले गत डिसेम्बर १८ मा फाइजरको खोप लगाएको फेसबुकमार्फत् जानकारी गराएका थिए। उनले त्यति बेला खोप लगाउँदा एक दिनसम्म आफ्नो हात सुन्निएको बताएका थिए।

त्यसको ६ दिनपछि क्रिसमस इभको दिन कोभिड-१९ युनिटमा काम गरेपछि उनी बिरामी परेका थिए। त्यस दिन चिसो महशुस भएको र पछि शरीरहरू पनि दुखेको उनले बताएका थिए। त्यसपछि अस्पताल पुगेर कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उक्त समाचारमा उल्लेख छ।

‘यो कुनै अप्रत्यासित कुरा होइन। तपाईं कोरोना संक्रमितहरूको उपचारमा संलग्न हुनुहुन्छ भने हामीले अपेक्षा गर्ने नै यही हो,’ सानडियागोस्थित परिवार स्वास्थ्य केन्द्रका संक्रामक रोग विषेशज्ञ डा. क्रिस्टियन रेमर्सले भने। खोप लगाउनुअघि नै म्यात्थ्यूमा कोरोना संक्रमण भएको हुनसक्ने उनले बताए।

‘खोपको प्रयोगशाला परीक्षणबाट हामीलाई थाहा थियो, यसले शरीरमा भाइरसविरूद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न १० देखि १४ दिन लाग्न सक्छ,’ डा रेमर्सले भने। खोप लगाए सुरक्षित भए पनि त्यसले पूर्ण रूपमा सुरक्षा नदिने उनले बताए।

‘खोपको पहिलो डोजले अन्दाजी ५० प्रतिशतसम्म सुरक्षा दिन्छ, ९५ प्रतिशत सुरक्षा पाउन दोस्रो डोज लिनुपर्नेछ,’ उनले भने। म्यात्थ्यूको उदाहरण दिँदै खोप विकास भए पनि महामारी छिट्टै नसकिने उनले बताए।

१५ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको