दाङमा साढे ३९ लाखमा बनाइएकाे ‘भ्यू टावर’


मङ्सिर १५, दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित छिल्लीकोटमा झण्डै साढे ३९ लाखमा तीन तले भ्यू टावर निर्माण गरिएको छ । टावरको उचाइ २० फिट छ ।

सबैभन्दा माथिल्लो तलामा सुरक्षाको लागि रेलिङ अझै बनाइएको छैन । उद्घाटन भइनसकेकाले भ्यू टावर सर्वसाधारणका लागि खुला गरिएको छैन ।

यो भ्यू टावर उपभोक्ता समितिमार्फत् निर्माण भएको हो। छिल्लीकोट भ्यू टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष परवीर पुन मगरका अनुसार तुलसीपुर उपमहानगरपालिकाको ३० लाख अनुदान र ९ लाख ४५ हजार रुपैयाँ जनश्रमदान गरि ३९ लाख ४५ हजार ८ सय ३२ रुपैयाँको लागतमा भ्यू टावर निर्माण भएको हाे ।

छिल्लीकोट आसपासमा भ्यू टावरभन्दा कयौं गुणा अग्ला पहाड छन् । ती पहाडबाट दाङमात्र नभएर आसपासको दृश्य मजाले देख्न सकिन्छ। छिल्लीकोट समुन्द्री सतहदेखि एक हजार ४ सय १० मिटरको उचाइमा छ।

मौसम सफा हुँदा यहाँका डाँडाबाट रुकुमको सिस्ने हिमाल, रोल्पाको जलजलाजस्ता हिमाल देख्न सकिन्छ। महाभारत पर्वत शृंखलाबाट दक्षिणको दाङ उपत्यका नियाल्न सकिन्छ। त्यही प्रकृतिक दृश्य अवलोकन गर्न मानिसहरू छिल्लीकोट भ्रमण जाने गर्छन्।

भ्यू टावरकोमाथि राष्ट्रिय झण्डा राख्ने

भ्यू टावरकोमाथि राष्ट्रिय झण्डा राख्ने सोच रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष परवीर पुन मगरले बताए । त्यो झण्डाको लागि दाता खोजिरहेको उनले बताए ।

त्यस्तै, भ्यू टावरसम्म पुग्न झन्डै डेढ सय मिटरजति रेलिङसहितको सिँढी निर्माण गर्नुपर्ने आवश्यकता रहेको निर्माण समितिका अध्यक्ष मगरले बताए । त्यसका लागि थप ८ देखि १० लाख रुपैयाँ लाग्न सक्ने उनले अनुमान गरे ।

गत असारमा प्रदेश सरकारको ५० लाख रुपैयाँ लागतमा पूर्वतर्फको मालिका मन्दिर पुनर्निर्माण गरिएको छ । त्यो मन्दिरसम्म पुग्न रेलिङ पनि निर्माण गरिएको छ । यसपालि फेरि थप ३० लाख रकम प्राप्त भएको र त्यसले कालिका मन्दिर पुनर्निर्माण गरिने अध्यक्ष मगरले बताए ।

‘मालिकामा अब टायल बिछ्याउनमात्रै बाँकी छ,’ मगरले भने, ‘यसपटक आएको रकमले अब हामी तत्कालै कालिका मन्दिरको गजुर, रेलिङ, पर्खाल लगायतका काम गर्छौं ।’ उनले ‘लिफ्टिङ’ गरेर खानेपानीको प्रबन्ध गर्न लागिएको बताए। त्यसका लागि ६० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिने छ।

राजश्व उठानकाे लागि भ्यू टावर बनाइयाे

पहाडको चुचुरोमा भ्यू टावर किन चाहियो भन्ने प्रश्नमा उनले सर्वसाधारणबाट राजश्व उठाउनकाे लागि बनाइने जवाफ दिए ।

‘यहाँ पहाड त जति पनि छन् र ती पहाड चढेको कसले पैसा दिन्छ र?,’ मगरले थपे, ‘भ्यू टावर बनाएपछि पैसा उठाउन सजिलो हुन्छ र त्यसले छिल्लीकोटको विकास गर्न टेवा पुग्ने छ।’

उनले भ्यू टावर चढ्न टिकटको व्यवस्था गरिने र एउटा व्यक्तिवाट ५० रुपैयाँ लिने तयारी गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्थानीयको मागबमोजिम पहाडमा भ्यू टावर निर्माण गर्न लगानी गरेको बताए। ‘भ्यू टावर भएपछि छिल्लीकोटको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने दाबी स्थानीयको थियो,’ मेयर पाण्डेले भने, ‘आशा छ भ्यू टावरले त्यहाँको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।’

१५ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको