परिवारसँग घुम्ने योजना अधुरै


मङ्सिर १५, काठमाडौँ । बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए ।

चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका थिए । अन्त्यमा ‘अब मेरो ड्युटी सुरु हुन्छ, हजुरहरू सुत्नुहोस्, घर आउन धेरै दिन बाँकी छैन, घर आएर घुमौंला, रमाऔंला’ भन्दै उनी छुट्टिएका थिए । केही दिनपछि बिदामा घर आउने र परिवारसँगै घुम्ने, रमाउने योजना शुक्रबार बिहान उनीसँगै अस्तायो ।

भारतको जम्मु–कश्मीरमा ड्युटीमा रहेका बेला शुक्रबार बिहान ५ बजेतिर कारमा आएका पाकिस्तानी सेनाले गोली हानी प्रेमको हत्या गरे । सुरुमा प्रेमलाई गोली लागेको भनेर श्रीमती भगवतीलाई फोन आयो । पछि बुबा लालबहादुरले फोन गर्दा मृत्यु भइसकेको जानकारी पाए । त्यसपछि हतारहतार भारत गएका लालबहादुर शनिबार राति छोराको शव लिई तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित घर फर्किएका हुन् ।

छोरा प्रेमको शव जम्मु–कश्मीरबाट विमानमा लखनऊ ल्याएपछि त्यहाँबाट गाडीमा रातारात घर ल्याइएको लालबहादुरले बताए । भारतीय सेनामा १३ वर्ष बिताएका ३० वर्षीय प्रेमको केही वर्षपछि जागिरबाट अवकाश लिएर परिवारसँगै बस्ने योजना थियो । उनको घरमा मोटरसाइकल मात्रै छिर्ने गेट थियो, नेपाल फर्केपछि उनले गाडी किन्ने योजना सुनाएकाले धमाधम ठूलो गेट निर्माण भइरहेको छ । तर यी कुनै पनि सपना पूरा नहुँदै उनको मृत्यु भयो ।

‘भाग्यमा यति नै लेखेर आएको रहेछ । जागिर सकिन धेरै वर्ष बाँकी थिएन,’ भारतीय सेनाका अवकाश प्राप्त सुवेदार बुबा लालबहादुरले भने, ‘भाग्यले साथ नदिएपछि कसको के लाग्यो र ? अब जागिर सकिएपछि घरमा आएर काम गर्ने उसका धेरै योजनाहरू थिए, सबै सकिए ।’

जीवनको महत्त्वपूर्ण समय बाँकी रहँदै भएको उनको निधनले सबैलाई दुःखी बनाएको छिमेकी तुलसी केसीले बताए । ‘बुबाआमा, श्रीमती, छोराछोरी मात्र होइन, आफन्त र छिमेकीहरूलाई पनि सम्हाल्न कठिन भएको छ,’ उनले भने, ‘आमा र श्रीमती छिनछिनमा बेहोस भइरहेका छन् । डाक्टर ल्याएर उपचार गरिरहनुपरेको छ ।’

प्रेमको आइतबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको छ । उनका ७ वर्षीया छोरी र ५ वर्षीय छोरा छन् ।

१५ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको