सामाजिक सञ्जालको जञ्जालमा फस्दा…


मङ्सिर १५, काठमाडौँ । चन्द्रागिरि नगरपालिका बस्ने १६ वर्षीया किशोरी गत मंगलबार हराइन् ।

भोलिपल्ट अभिभावकले महानगरीय प्रहरी परिसर काठमाडौंको खोजतलास शाखामा निवेदन दिए । थानकोटबाट हराएकी तिनै किशोरीको चार दिनपछि काठमाडौंबाट करिब १३ सय किलोमिटर टाढा भारत मध्यप्रदेश राज्यको इन्दौर नजिकको सिहोर भन्ने ठाउँबाट उद्धार गरिएको छ ।

कसरी पुगिन् त्यति टाढा ? कसले पुर्‍यायो ?

अभिभावकको निवेदनपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । प्रहरीले थानकोट नाकादेखि काठमाडौंबाट बाहिरिने सवारी साधनहरूमा निगरानी बढायो । तर, ती किशोरी कहाँ गइन् भन्ने कुनै सुइँको पाउन सकेन ।

त्यसपछि भारततर्फ गएको हुन सक्ने भन्ने शंकामा प्रहरीले केआई नेपालमा भारतका शाखालाई सम्पर्क गरे । जावलाखेलमा मुख्य कार्यालय रहेको आफन्त (केआई) नेपाल संस्थाले भारत तथा तेस्रो मुलुकमा महिला, बालबालिका बे’च’बिख’नवि”रुद्ध काम गरिरहेकाले त्यसमार्फत खोजी गर्न सहज हुने देखियो । थानकोट प्रहरीले टेलिकम कम्पनीमार्फत ती किशोरीको मोबाइलको लोकेसन निकालेपछि उक्त संस्थाका सहयोगीसँग परामर्श गरिएको थियो ।

मोबाइलको लोकेसन ट्रेसिङमा किशोरी भारततर्फ गएको खुलेपछि आमाबाबुले प्रहरी र केआई नेपालका प्रतिनिधिलाई छोरीको सामाजिक सञ्जाल प्रयोगबारे बताए । सोसल साइटमा उनका साथीहरूमध्ये भारतमा बस्ने दुई जना केटासँगको संवादलाई सन्दिग्ध मानेर अनुसन्धान गर्नुपर्ने देखियो । केआईले किशोरीको सबै जानकारी आफ्नो भारत प्रतिनिधि नवीन जोशीलाई दियो ।

त्यसपछि जोशीको आग्रहमा दिल्ली प्रहरीले किशोरीसँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहेका दुई जना केटाको नम्बर पत्ता लाग्यो । शंकाको सुई मध्यप्रदेशको भोपालमा बस्ने महेश नाम गरेको एउटा केटातर्फ सोझियो ।
दिल्ली प्रहरीले मध्यप्रदेशको बालकल्याण समिति (सीडब्लूसी) सँग सम्पर्क गर्‍यो । सीडब्लूसीले तत्कालै मध्यप्रदेशको आस्टा जिल्लाअन्तर्गतको सिहोर प्रहरीलाई केटालाई पक्राउ गरी छानबिन सुरु गर्न भन्यो । प्रहरीले ल्याएर केरकार गरेपछि महेशले ती किशोरीलाई आफूले बोलाएको र इन्दौरबाट एउटी केटीको साथ लागेर भोपाल आउँदै गरेको बताए । त्यसपछि ती किशोरीलाई स्थानीय प्रहरी र सीडब्लूसीका प्रतिनिधिले सिहोरबाट उद्धार गरेको हो ।

किशोरीले प्रहरीलाई बताएअनुसार दुई वर्षअघि टिकटकमार्फत महेश नामको युवकसँग सम्पर्क भएको थियो । त्यसपछि उनीहरू फेसबुकमा साथी बने । त्यसपछि मेसेन्जर र ह्वाट्सएपमार्फत उनीहरूबीच नियमित कुराकानी हुने गरेको थियो । प्रहरीका अनुसार ती युवकले मायाको जालमा पारेर विवाह गर्नेसम्मको प्रलोभन दिएको खुलेको छ । विवाह गर्ने भन्दै योजनाबद्ध ढंगले भोपाल बोलाएको प्रहरीको दाबी छ । युवकले केटीहरूसँग सम्पर्क गर्न पिटर नामबाट बेग्लै फेसबुक आईडी नै खोलेको पाइएको छ ।

उनले बालिकालाई आफू भोपालको एउटा ठूलो कलेजको मालिक रहेको समेत दाबी गरेको खुलेको छ । जबकि प्रारम्भिक छानबिनमा युवकका पिता सामान्य मजदुरी गरेर घर खर्च धान्ने गरेको देखिएको केआई नेपालका प्रतिनिधि जोशीले कान्तिपुरलाई बताए ।

परिवारसँग सम्पर्क हुँदा किशोरीले आफू एक जना महिलासँग इन्दौरसम्म आएको र त्यहाँबाट एक जना केटीको साथ लगाएर पठाएको बताएकी छन् । ती महिला र केटी को हुन् भन्ने अझैसम्म खुलेको छैन । केटाले नै ती केटी र महिलालाई ती बालिकालाई भोपाल पुर्‍याउन खटाएको आशंका प्रहरीले गरेको छ ।

केआई प्रतिनिधि जोशीका अनुसार ती केटी र महिलाका सम्बन्धमा पनि प्रहरीले छानबिन गरिरहेको छ । किशोरीले प्रहरीलाई बताएअनुसार मंसिर १० को बिहान ८ बजे उनी बुद्ध एयरको जहाजबाट सिमरा उत्रिएकी थिइन् । त्यहाँबाट रक्सौल नाका हुँदै भारततर्फ पस्दा नाकाका नेपाल प्रहरी र एसएसबीले केही नसोधेको बताएकी छन् । तर, कोरोना महामारीका कारण नाकामा निगरानी बढाइएको अवस्थामा उनले सीमा पार गर्दा कसैले पनि नसोधेको भन्ने भनाइप्रति प्रहरीले विश्वास नगरेको जोशीले बताए ।

‘अहिलेको अवस्थामा काठमाडौंको एउटा बालिका त्यो पनि पहिलो पटक भारत आउँदा एक्लै सीमा काटेर भोपाल जान लागेको भन्ने पत्याउन सकिँदैन,’ उनले भने । किशोरीलाई कसैले चोरबाटोबाट वा योजनाबद्ध ढंगले सीमा कटाएको प्रहरीको आशंका छ ।

रक्सौलबाट कानपुरसम्म बसमा त्यसपछि लखनउ र त्यहाँबाट इन्दौरसम्म उनी कसरी पुगिन् भन्नेमा पनि प्रहरीले छानबिन गरिरहेको छ । उद्धार गरिएकी किशोरीलाई भोपाल बाल कल्याण समितिको संरक्षणमा स्थानीय बालगृहमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेपछि घर फिर्ता गरिने जोशीले बताए । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।

१५ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको