बुवाले गराए छोराको चौरासी पूजा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल–१२ हरकट्टाका १०८ वर्षीय वृद्ध केशवराज ज्ञवालीद्वारा आफ्नो ८४ वर्षीय जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै। तस्बिरः मोहन पौडेल/रासस

कात्तिक १४, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक बुवाले छोराको चौरासी पूजा गरेका हुन्।

बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए।

बाबुले छोराको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासीसमेत पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए। चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए।

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य छन्। खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए। केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा. बाबुराम छन्।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए। आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताए।

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन्। उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ। उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन्।

साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ। –मोहन पौडेल/रासस

२०७७ कार्तिक १४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको