धमाधम स्मार्ट मिटर जडान गर्दै विद्युत प्राधिकरण


कात्तिक १४, काठमाडौँ । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको स्मार्ट मिटर जडान कार्य तीव्रताका साथ अघि बढिरहेको प्राधिकरणले जनाएको छ ।

मिटर रिडर नपुगे पनि खपत विवरण जानकारी हुने सूचना प्रविधिमैत्री स्मार्ट मिटर जडान काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत जडान जारी छ ।

गत साउन २५ मा उद्घाटन गरिएको स्मार्ट मिटर जडान कार्य तत्काल रत्नपार्क केन्द्रअन्तर्गतका ग्राहकमाझ ल्याउने अन्तिम तयारी रहको प्राधिकरण स्मार्ट मिटरिङ महाशाखा प्रमुख रोशन न्यौपानेले जानकारी दिए ।

प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्दै छ ।

न्यौपानेका अनुसार अहिले मण्डिखाटार, सुकेधार, गोङ्गबु र धापासी क्षेत्रमा १२ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिसकिएको छ । दशैँलगत्तै रत्नपार्क वितरणसहितका बाँकी क्षेत्रमा जडान कार्य थाल्न लागिएको हो । महाराजगञ्ज र रत्नपार्कको सम्पन्न गर्न जनशक्ति थप गर्न लागेका छौँ, न्यौपानेले भने, “उपत्यकाभरका लागि पनि मिटर खरिदलगायतका टेन्डर आह्वानको अन्तिम तयारीमा छौँ।”

पहिलो चरणको विद्युत् मिटरका लागि चीनको पिङ्गो र विसडम कम्पनीले ठेक्का प्राप्त गरेका थिए । सामान आपूर्तिलगायत प्रविधिक समस्या हालसम्म नपरेको न्यौपानेको भनाइ छ । करिब चार सय ग्राहकको प्रतिस्थापन गर्न भने समस्या आएको र त्यसबारे प्राधिकरण उच्च अधिकारीलाई जानकारी गराइसकिएको उनले बताए ।

स्मार्ट मिटरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि अनुमति आवश्यक पर्ने हुन्छ । मन्त्रालयबाट दोस्रो चरणका लागि रेडियो फ्रिक्वेन्सीको अनुमतिको प्रतीक्षामा प्राधिकरण छ । यो अनुमति पाएपछि ठेक्का आह्वान गर्ने र ठेक्का लागेको ३० महिनाभित्र काठमाडौँ उपत्यकाभित्र सबै मिटर स्मार्टमा रूपान्तरण गरिसक्ने योजना छ । अहिले कोभिड महामारीका कारण पनि पहिलो चरणको काम प्रभावित भएको थियो । खासगरी कर्मचारीलाई घरभित्र आउन डराउनुपर्ने अवस्थाले गर्दा बन्दाबन्दीका समयमा स्मार्ट मिटर जडान प्रभावित भएको थियो तर अहिले भने त्यस्तो समस्या नरहेको न्यौपानेको भनाइ छ ।

कोभिडजस्तै कुनै ठूलो भवितव्य नपरे काठमाडौँ उपत्यकाभर स्मार्ट मिटर जडान कार्यले तीव्रता पाउने उनी बताउँछन् ।

स्मार्ट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरको मिटरको बिल मापन गर्नसक्छ भने ग्राहकले पनि आफ्नो विद्युत् खपतलाई नियन्त्रणमा राख्नसक्ने व्यवस्था छ । एपमार्फत ग्राहकले विद्युत्सम्बन्धी विवरण पाउन सक्छन् । अझ यसको आकर्षक पक्ष भनेको सौर्य ऊर्जा जडान गरेका ग्राहकले आफूसँग बढी भएको सौर्य विद्युत् प्राधिकरणलाई बेच्नसमेत सक्ने छन् । स्मार्ट मिटर जडान भइसकेका क्षेत्रका केही ग्राहकले यस्तो सुविधा लिन थालिसकेका छन् ।

ग्राहकले आफू जुनसुकै स्थानमा भए पनि आफ्नो घरको विद्युत् खपतको अवस्था जानकारी मोबाइलबाटै लिन सक्छन् । त्यस्तै रिमोटबाटै विद्युत् सेवा बन्द गर्न वा सुचारु गर्नसक्ने सुविधा पनि यसमा उपलब्ध हुन्छ । यसबाट रियलटाइम खपतसमेत ग्राहकले देख्न पाउँछन् । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

१४ कार्तिक २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको