रोल्पाकी एक महिला एक करोड बढी मूल्य पर्ने अफिमसहित पक्राउ


असोज १४, कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु१ह १५७ नंको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई पक्राउ गरेको छ । उनले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तु प्रहरीले जानेको छ ।

चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो ।

पक्राउ परेकी रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको अफिम भारत पुर्‍याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य रु एक करोड बढी पर्ने बताइन्छ ।

यस अघि अशोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा ३७ केजी चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा आएका थिए ।

नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद गरेको थियो ।

२०७७ आश्विन १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको