भदौ १४, काठमाडौं । नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
आइतबार बिहान ३ बजे सेनाका जवानले आफूले बोकेको हतियारले घाँटीमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएको छ ।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन् ।
उनका अनुसार आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ । मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा गएको थियो।
यता सैनिक जनसम्पर्क तथा निर्देशनालयले पनि ड्युटीमा बसेका जवानले गोली हानी आत्महत्या गरेको पुष्टि गरेको छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले सिपाहीले गोली हानेर आत्महत्या गरेको बताए।
अविवाहित रहेका क्षेत्रीले आत्महत्या गरेको घटनाबारे सैनिक प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइएको पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस