ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो


असार १६, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए ।

ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरूले सोमबारको संस्करणमा विशेष प्राथमिकताका प्रकाशन गरेका थिए । ओलीको अभिव्यक्तिलाई प्राय: सबैजसो मिडियाले सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्किँदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा अथ्र्याएका छन् । त्यसैगरी दिल्लीस्थित नेपाल मामिलाका जानकार तथा कूटनीतिज्ञहरूले पनि ओलीको पछिल्लो अभिव्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयासका रूपमा लिएका छन् । यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप पर धकेलेको समेत उनीहरूको भनाइ छ ।

नेपालले सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेत समेट्दै नयाँ राजनीतिक नक्सा प्रकाशन गर्दै संविधानसमेत संशोधन गरेयता दिल्ली र काठमाडौंबीच संवादहीनता छ । नेपालले सीमा विवाद सुल्झाउन भारतले वार्ताका लागि चासो नदेखाएको बताउँदै आएको छ भने भारतले नक्सा प्रकाशनलगायत नेपालको कामप्रति असन्तुष्टि जनाएको छ । यसले दुवै देशबीचको उच्च राजनीतिक र कूटनीतिज्ञ तहमा विश्वासको संकट चुलिन पुगेको छ । यसै पृष्ठभूमिमा प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले दुवै पक्षबीच अविश्वास थप बढाउने अनुमान छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

२०७७ असार १६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको