रोल्पा अपडेटः गोठाला गएका चार बालबालिकाको बम विस्फोटमा परि मृत्यु


बैशाख १८, रोल्पा । रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो । मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्।

गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शव घटनास्थलमै छन् । चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन् । बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ ।

मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ । जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेर अहिले घटनास्थल सिल गरिसकेको छ । विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन् । रातभर प्रहरीले शवको सुरक्षा दिने भएको छ ।

नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ । नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ । गाउँको नजिकै विस्फोटको घटना भएको हो । तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो ।

युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ । बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ।

एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन् । गाउँमा त्रास फैलिएको छ । -अन्नपूर्ण पोष्टबाट

१८ बैशाख २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको