‘जब सत्ताले घाँटी थिच्छ मानवताको’


सोझाको दिनरात वर्णन गरे टेढाहरूले किन ?
हामी बौद्धिक वर्ग हौँ भनिरहे भेडाहरूले किन ?
तिम्रा वादहरू सबै मरिसके सिद्धान्त ठेली सुन
भो पाण्डित्य नछाँट पुस्तकहरू गाह्रो छ मान्छे हुन ।

–सुदेश सत्याल

मेरो प्रिय साथी सुदेश सत्यालको यो कविता यतिखेर सामाजिक सञ्जालमा फिँजिएको छ । अर्थात् भाइरल भएको छ । चार हरफको यो कविताको अंश पढिरहँदा मैले पटकपटक सरकारलाई सम्झेँ । सरकारका मन्त्रीहरूलाई सम्झेँ । सरकारका प्रतिबद्धताहरूलाई सम्झेँ । लुई चौधौँ बन्न खोजिरहेको दुई तिहाइ कम्युनिस्ट सरकारको शासनकालमा यस्तो कविता बडो सान्दर्भिक हुनु निकै दुःखद् हो । तर सत्यले नाङ्गो नृत्य बारम्बार गरिरहेछ ।

नेपाली राजनीतिमा एउटा प्रसङ्ग खुब चर्चामा आउँछ । एकचोटि देशमा अनिकाल लागेको प्रसङ्ग दरबारसम्म पुगेछ । बिन्तीपत्र बिसाउनेले भनेछ– सरकार ! जनता त भोकै मर्ने भए । हजूरबाट केही बक्सनुप¥यो । छेउमै रहेका युवराजले भनेछन्– के तिनले दूध र भात पनि खान पाएका छैनन् ?

आज कम्युनिस्ट शासकहरूमाझ पनि यस्तै प्रसङ्ग जोड्दा अन्यथा नहोला । आजका मन्त्रीहरू भन्दा हुन्– के तिनले ब्रोइलर कुखुराको मासु र भात पनि खान पाएका छैनन् ?
नामी राजनीतिक विश्लेशक र वैचारिक नेता भनिएका घनश्याम भुसाल लकडाउनको एक साँझ टेलिभिजनमा झुल्किए । बडो चतु¥याइँपूर्वक उनले भने– म मन्त्री भएपछि नेपालको कृषि प्रणालीमा थुप्रै सुधार भएका छन् । किसानको जीवनस्तरमा फेरबदल आउँदैछ ।

उनले अन्तरवार्ता दिइरहँदा दूधको बजार नपाएर किसानहरू सडकमा दूध पोख्दै थिए । नेपाली बजारमा तरकारीको अभाव थियोे । भारतबाट आएको तरकारीको भाउ बढ्दै थियोे । कालीमाटीमा चालीस रूपैयाँमा पाइने गोलभेडा नयाँ बसपार्क पुग्दा साठी रूपैयाँमा बिक्री हुँदै गरेको दृश्य नयाँ थिएन । अझ मनमैजु पुग्दा गोलभेडाको मूल्य सत्तरी रूपैयाँ हुन्थ्यो । एक किलो गोलभेडामा तीस रूपैयाँ गोलमाल हुने यो रीत अहिलेदेखिको होइन । धेरै पहिलेदेखिको हो जुन रीत घनश्याम भुसाल आउँदैमा फेरिनेवाला थिएन र फेरिएन पनि । झन् विकराल बन्यो ।

लकडाउनको मौकामा कृषि क्षेत्रका बिचौलियाहरू कृत्रिम अभाव खडा गर्दै थिए । नेपाली कृषकको जिन्दगीमा झन् समस्या थपिँदै थियोे । कृषिमन्त्री भन्दै थिए– म दलालहरूको फन्दाबाट बाहिर छु ।

एकजना आशा गरिएका पात्रको प्रसङ्ग हो यो । सरकारका वैचारिक मन्त्री र नेपालका मिडिया अनि बौद्धिकहरूले रुचाएका पात्रको यो हालत देख्दा मन कटक्क हुन्छ । अनि स्वार्थ समूह बाहिर छु भनेर अन्तरवार्ता दिनुको केही तुक हुन्न । यो सरकार स्वार्थ समूह बाहिर कसरी हुन सक्छ ? स्वार्थ समूह हाबी थिएनन् भने शक्तिशाली सरकारलाई जनजीविकाको मुद्दामा अडिग हुन को बाधक हुन्थ्यो ? बिहान जग्गा दलालसँग, दिउँसो यतीका साथीहरूसँग, बेलुका ई–सेवाका निर्देशकसँग खाना, नास्ता र साँझको रमझम नगरेको भए सरकार र जनताबीच यति धेरै सामाजिक दूरी किन कायम हुन्थ्यो र ?

अनि एउटा मन्त्री पृथक हुने, एउटा सचिव गज्जब हुने विरलाकोटी दृश्य हाम्रा आँखाहरूका निम्ति दुर्लभ भइसक्थ्यो । प्रधानमन्त्रीले एउटा अन्तरवार्तामा भने– स्वतन्त्रता र जीवनमध्ये जीवन प्रहिलो हो । जीवनलाई नै प्रथमिकता दिनुपर्छ । सुन्दा क्या साहित्यिक लाग्छ यो वाक्य । एउटा राम्रो कविताको हरफजस्तो लाग्छ तर स्वतन्त्रताबिनाको जीवन सोच्न पनि सकिँदैन । यो अति कहालीलाग्दो हुन्छ । खान पाउनु र बोल्न नपाउनुबीच दूरी कायम गर्न थालेपछि मानव घरपालुवा पशुमा रूपान्तरित हुन्छ । खुसी, रहर र सपनाहरू बन्धकीमा राखिएको जीवन त जीवन नै होइन । कमसेकम मान्छेको जीवन स्वतन्त्रताबाहिर हुन्न र जीवन र स्वतन्त्रताबीच खासै दूरी पनि हुनु हँुदैन जस्तो आज नेपाल सरकार र नेपाली जनताको दूरी छ ।

प्रधानमन्त्रीले यो प्रसङ्ग लकडाउनको सन्दर्भमा भनेका हुन् । कोरोना भाइरसविरुद्ध जुधिरहेका जनताका लागि उनले उपदेश दिन पनि यसो भनेका हुन सक्छन् । चन्द्रागिरि पुगेर कविता लेखिसकेका साहित्यिक हृदयका प्रधानमन्त्री कहिलेकहीँ यस्तै भावुक कुरा गर्छन् । अनि यो कुराले आयु गुमाइहाल्छ । जस्तो अस्ति सरकारले दुई दिन उपत्यकाबाहिर जान दिने निर्णय ग¥यो र दुई घण्टामै उल्ट्यायो । वली कमरेडको खास ब्रान्ड उखानटुक्का सरकारको व्यावहारिक दक्षिणपन्थलाई सघाउने खालका नै हुन्छन् ।

लेनिनको एउटा कोटेसन छ– राज्यसत्ता भनेको भनेको एउटा वर्गले अर्को वर्गलाई दबाउने साधन हो । यस्तै कोटेसन जीवनभर घोकेर हुर्केका मन्त्रीहरूलाई थाहा छ उनीहरू कुन हतियारले कुन वर्गमाथि ताकिरहेका छन् । पँुजीवादी हतियार निम्न वर्गमाथि ।

सत्तामा मानवीय संवेदना हुँदैन । मानवता हुँदैन । हुँदो हो त दिनभर बिरामी जाँचेर घर फर्किरहेका डाक्टरका छातीमा किन प्रहरीका बुट बज्रिन्थे ? सहरमा खान–बस्न समस्या भएर पेटमा पटुका बाँधेर घर फर्किरहेका मजदुरका पिठ्युँमा किन लौरा बज्रिन्थे । औषधी किनेर आएका बिरामीमाथि किन प्रहरीकै हाकिम झम्टिन्थे ?
सत्ता भनेको शक्ति हो । सत्ताभित्र शासकीय मानसिकता हुन्छ । जब जनता र सरकारबीच शासक र शासितको दूरी कायम रहन्छ त्यहीँबाट अधिनायकवादले जरो गाड्छ । निरङ्कुशताले हाँगो हाल्छ । जनतन्त्रले आत्महत्या गर्छ ।

त्यहीँबाट सुरु हुन्छ हाकिम र कारिन्दाको दूरी । शोषक र शोषितको दूरी । उत्पीडनको अन्त्यहीन अध्याय । सबैखाले उत्पीडनको जग राज्यसत्ता हो । राज्यसत्ता कति शक्तिशाली भयो भने समाजमा सबैभन्दा ठूलो भनिएको धर्म उनीहरूकै कब्जामा गयो । नेपालकै राजसंस्थाले पनि आफूलाई विष्णुको अवतार दाबी ग¥यो । पूजा गर्न लगायो । आज पनि श्राद्ध गर्दा राजालाई तर्पण दिनुपर्ने चलन हटेको छैन । भारतका शासक नरेन्द्रदामोदरदास मोदीलाई ऋषि मनका शासक भनिएको भर्खरै हो ।

जब शासकलाई देवत्वकरण गरिन्छ उसले सर्पको रूप धारण गर्छ र सोझासीधा र इमानदार जनतालाई डस्न सुरु गर्छ । उसले मानवतालाई दरबारमा झुन्ड्याउँछ र सडकमा आएर तपाईं–हाम्रो छातीमा सङ्गीन रोप्छ ।

नेपाली शासकहरूको एउटै गुण समान छ– उनीहरू कहिल्यै पनि जनताप्रति इमानदार भएनन् । यति लामो शासकीय इतिहासमा जनतालाई रैतीबाट माथि उठ्न दिएनन् । जनता बाठा भए भने शासकका काला हर्कतहरु बुझ्ने हुन्छन् । त्यसैले जनतालाई रैती बनाउने अन्त्यहीन शृङ्खलाको नयाँ अवतार हुन् केपी वली । केपी वलीसँग दुई तिहाइको दम्भ छ । म यो देशको खाँट्टी शासक हु भन्ने घमण्ड छ । देश डुबानमा हुँदा उनी बाँसुरी बजाउँछन्, रसिक हुन्छन् ।

चन्द्रागिरिको डाँडामा हिट कविता भनेका उनी जनतालाई यो मौसममा कविता गोष्ठी गर्न नहुने तर्क पेस गरिरहेछन् । भनिरहेछन्– बरु भोकै बस, कोरोनासँग जुध्नचाहिँ मज्जाले जुध । दुईचार दिन भोकै हुँदा मान्छेलाई कति पीडा हुन्छ ! नक्खु जेलको एउटा सकसको दिन मात्र पनि उनले सम्झिदिए भने त्यो पर्याप्त हुने थियो । भोक, रोग, शोक र गरिबीको यो मौसममा उराठ सरकारको चेहराले मजदुर–किसानलाई झन् पीडा दिन्छ किनकि मानवता र सरकारको दूरी सयौँ फिटमा कायम भैइसक्यो । आज बालुवाटार हेर्दा त्यही महसुस हुन्छ ।

बालुवाटारमा सत्ता पपगीतमा मस्त डान्स चल्दैछ । जनताले खान पाएन– बाल मतलब । जनता अलपत्रमा परे– बाल मतलब । राहतमा मनलाग्दी भो– बाल मतलब । प्रहरीले भाटा हान्यो– बाल मतलब ।

एउटा सचेत नागरिकले सधैँ बालुवाटारतिर हेर्दा किन मानवको घाँटी थिचिएको महसुस गर्छ । कम्युनिस्ट नामधारी शासकहरू आफ्नु विगतलाई सम्झेर एक मिनेट भए पनि घोत्लिऊन् ।

१८ बैशाख २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको