माघ १६, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीका राजीव ढुंगानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन गरेको छ ।
महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन गरेपछि गत वर्ष माघदेखि नेविसंघ नेतृत्वविहीन थियो ।
गत वर्ष फागुन १ गते कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघलाई नेतृत्व दिन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको एघार महिनापछि देउवाले बिहीबार नेविसंघ सभापतिसहित महामन्त्रीहरू मनोनित गरेका हुन् ।
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम नेविसंघमा नेतृत्व दिइएको कांग्रेसले जनाएको छ । अध्यक्ष ढुंगाना नेतृत्वको समितिलाई छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।
सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलासँग परामर्श गरी नेविसंघ सभापति र महामन्त्री मनोनित गरेका हुन्।
नेविसंघमा विधान मिचेर ९ जना महामन्त्री राख्ने सहमति नेताहरूबीच भइसकेको छ । सभापति देउवाले तीन, बरिष्ठ नेता पौडेलले तीन, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले दुई र उपसभापति विजयकुमार गच्छदारले एक जना महामन्त्री भागबन्डाका आधारमा पाउनेछन् ।
नेविसंघ विधानअनुसार महामन्त्री २ जना मात्रै बनाउन मिल्छ । त्यसमा पनि मनोनित एक र निर्वाचित एक जना हुनेछन् । तर विधान मिचेर ९ महामन्त्री बनाउन लागिएको छ । अहिले दुई महामन्त्रीका नाम सार्वजनिक गरिएको हो ।
नेविसंघमा एक सय एक सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन मिल्ने विधानको व्यवस्था छ । तर नेताहरूले एक सय २७ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेका छन् ।
मुख्यसचिव पौडैलका अनुसार अब केही दिनमा नेविसंघ कार्यसमितिलाई पूर्णता दिइनेछ । ३२ वर्षे उमेरहद लागु गर्नुपर्ने मागसहित विधान कार्यान्वयन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा छन् ।
अनसनको वास्ता नगरी सभापति देउवाले विधान मिचेरै आफू निकट ढुंगानालाई नेविसंघ अध्यक्ष बनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस