शहिदका नाममा नयाँ जंग बहादुरहरुको रमिता !


माघ १६, काठमाडौं । निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई वि.सं. १९९७ माघ १० गते टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

धर्मभक्तलाई पनि सोही वर्ष माघ १३ गते सिफलमा झुन्ड्याइएको थियो । माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

फलस्वरूप आज विभिन्न खाले ब्यबस्थाका चरणहरु पारगर्दै गणतन्त्र नेपालको अभिव्यक्ति स्वतन्त्रताको सुन्दर युगमा उभिएका छौ ।

त्यसैले आजको दिनलाई देशभर शहिद दिवशका रुपमा मनाउने गरिन्छ । यतिखेर हाम्रो ब्यबस्था जनताको सार्बभौम सत्ताको रुपमा परिभाषित छ तर देश हाँक्नेहरुको सार्बभौमिकता प्रदर्शन भैरहेको छ ।

नेपालमा देखिएको अन्तरविरोधको मुख्य कारकतत्व पनि यहि हो । भन्नलाई जनताको सार्बभौम सत्ता तर उपभोग र प्रयोगमा मालिकहरुको सार्बभौम सत्ता भैरहेको सत्य हो ।

खासगरी नेपालका नेत्रित्वहरु आफ्नो आचरण र ब्यबहारमा गम्भीर रुपमा चुक्ने गरेका छन् । उनीहरुको शैली र आचरणले पुरानो ब्यबस्थाको भन्दा उग्रखालको झल्को दिने गरेको छ ।

अझै भन्नुपर्दा तानाशाही व्यवस्थाका निरङ्कुश बादशाहहरुको आत्मरति लिने शैली र आचरणका बिरुद्द लडेर सम्मान हैसियतको ब्यबस्था कायम गर्नेहरुले नै तानाशाही शैली र आचरण देखाउदा आम नागरिकहरु नेतृत्व प्रति असन्तुष्टि छन् ।

मूल प्रसंगमै जाउ । शहिद दिवशको पूर्व सन्ध्यामा एउटा तमासा बोकेको फोटो भाइरल भयो । जुन फोटोको भावार्थ हेर्दा ‘शहिदको नाममा नयाँ जंगबहादुरहरुको तमाशा’ प्रदर्शन भैरहेको भान हुन्छ।

कुरो हो वर्तमान राष्ट्रपति बिध्यादेबी भण्डारीको ।

कार्यक्रमको नाम थियो ‘शहिद स्मारक एबं प्रजातान्त्रिक पार्क’को उद्घाटन । फोटोको प्रसंग पनि शहिदकै नाममा जोडिएको रहेछ । त्यहि भएर होला, शहिदको नाममा मन्चन गरिएको तमाशाले यतिबेला सामाजिक संजाल तताइरहेको छ।

पछाडी पट्टि हेलिकप्टर, अगाडि पट्टि सोफा सिट छ, अनि सोफामा महामहिम राष्ट्रपतिको आसनग्रहन छ । पछाडी पट्टि स्थानीय जनप्रतिनिधि लगायतका मानिसहरुको लाइन छ र फोटोसेसन भएको छ ।

उक्त फोटोको मन्चनले बास्तबमै शहिदहरुको मर्मलाई घात गरेको छ । नयाँ नेपालका महामहिमहरुलाई प्रदर्शनीमा राखेको जस्तो देखिन्छ ।

बास्तबमा यो समस्या महामहिमको राष्ट्रपतिको भने होइन । ब्यबस्थापकीय जिम्मा लिएकाहरुको तडकभडक हो तर यस्तो भड्किलो कार्यले भने महामहिम राष्ट्रपतिको छविमा दाग लाग्ने भएको छ ।

यतिखेर राष्ट्रपति भण्डारीलाई लिएर सामाजिक संजालमा खिल्ली उडाउने कार्य भैरहेको छ । यस्तो बिषयमा ब्यबस्थापकीय भूमिका निर्बाह गर्नेले ध्यान दिएको भए राम्रो हुन्थ्यो ।

फोटो खिच्नकै लागि हेलिप्याडमै राष्ट्रपतिलाई सोफा ब्यबस्थापन गराई दिएको हो भने यस्तो कार्य अति नै हो । केवल फोटो खिचनकै लागि सोफा ब्यबस्थापन गर्नेहरुको चिन्तन देश र जनताप्रति कति उत्तरदायी हुन सक्छन भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।

त्यसैले देश र जनताका लागि मर्नेहरु कसरि मरे र आज देश हाँक्नेहरुले के गरे ? भन्ने बिषयले निकै महत्व राख्छ ।

खास भएको के थियो ?

सामाजिक संजालमा राष्ट्रपति सहितको भाइरल भैरहेको फोटो बारे राजन दाहालले अनलाइनखबरमा यस्तो लेखेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगिन् । कार्यक्रम सकेर फर्कने बेलामा रोचक तस्वीर देखियो ।

राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो । राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो ।

राष्ट्रपति पूर्वनिर्धारित कार्यक्रममा सहभागी भइन् । फर्किने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए ।

त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भयो । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।

यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

१६ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको