चीनका रक्षामन्त्री नेपाल आउँदै, यस्तो छ नेपाल-चीन सम्बन्धको इतिहास


मङ्सिर १४, काठमाडौँ । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै छन् । परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनीसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

उनी आइतबार साँझ नै स्वदेश फर्कने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।

नेपाल–चीन सम्बन्ध

नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो ।

त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाएका थिए । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ ।

बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महत्वपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि उनको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् ।

प्राचीन चीनका जिन वंशजका चिनियाँ भिक्षु फा जियानको भ्रमण र टान वंशजका भिक्षु जुआन ज्याङको भ्रमणलाई नेपाल–चीन सम्बन्धमा इतिहासका उल्लेखनीय घटना मानिन्छ । नेपाल र चीनका सरकार प्रमुखबीच ऐतिहासिक कालखण्डमा ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास छ ।

दुई देशले सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्धलाई औपचारिकता दिएपछि द्विपक्षीय कूटनीतिक मर्यादामा रही सम्बन्ध अगाडि बढ्दै आएको छ । दुवै देशले आपसी सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य गर्दै आएका छन् ।

यसैगरी दुवै देशले एकअर्काको सम्मानलाई मुख्य रूपमा प्राथमिकता दिँदै आएका छन् । पछिल्लो ६५ वर्ष लामो आधुनिक सम्बन्धमा असल छिमेकीपनका साथ सुख–दुःखमा एकअर्काको साथमा रहँदै आएका छन् ।

नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर साँध सिमाना जोडिएको छ । त्यसलाई विभिन्न समयमा भएका सन्धि सम्झौताले सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ । व्यापारिक सम्बन्धतर्फ भने सन् १८५६ को थापाथली सन्धिअघि नै ल्हासामा नेपालका वकिल बस्थे । पछि चीनको स्वशासित क्षेत्रभित्र तिब्बत रहन थालेपछि सन् १९५६ देखि नै तिब्बतमा नेपालको महावाणिज्यदूत रहेको छ ।

चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने दिशामा अग्रसर छ । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीको उच्च स्तरीय भ्रमण नेपालमा भएको थियो ।

गत वर्ष उनीहरूले नेपालको भ्रमण गर्दा अब नेपाल–चीन सँगसँगै विकासको बाटोमा केन्द्रित हुने उद्घोष गरेका थिए । उनीले सहमति र सम्झौता गर्नेभन्दा पनि कार्यान्वयनमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने औँल्याएका थिए ।

त्यसबेला नेपाल चीन विकासको नयाँ खाका कोर्दै २० वटा समझदारी पत्रमा दुई देशका राष्ट्रपतिले हस्ताक्षर गरेका थिए । अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु हुँदा बहुआयामिक विकासका रूपमा रहेको बीआरआई परियोजनाको सदस्य बनेर विकास साझेदार बन्ने बाटो खुला गरेका थिए ।

सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन १९ देखि २४ सम्म चीनको भ्रमण गरेका थिए ।

चीनका प्रधानमन्त्री ली खच्याङको निमन्त्रणमा गएमन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।

सो क्रममा द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन थप पहल भयो । सोही समयमा रेल्वे परियोजना लगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता भएको थियो ।

चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्गको अध्ययन सकेर केरुङबाट काठमाडौँसम्म ८० किलोमिटर रेलमार्ग बनाउन गृहकार्य भइरहेको छ । नेपाल–चीनबीच ट्रान्स हिमालयन कनेक्टिभिटी, बीआरआई परियोजनालगायत दर्जनौँ विकास निर्माणका परियोजनामा काम भइरहेको छ । साथै भूकम्प पछिको पुनर्निर्माणमा सघाउँदै चीनले दरबार हाई स्कुल, मठमन्दिर, विमानस्थल, विभिन्न नाका निर्माण गरेर हस्तान्तरणसमेत गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार नेपालमा प्रत्यक्ष लगानीकर्ताको हिसाबले चीन पहिलो मुलुक हो । दोस्रो उच्च लगानीको साझेदार भारत, तेस्रोमा अमेरिका, चौथोमा जापान र पाँचाँैमा यूएई रहेका छन् । आयाततर्फ उच्च पाँच साझेदारमा पहिलोमा भारत र दोस्रोमा चीन पर्छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेका छन् ।

१४ मंसिर २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको