तपाईंको बाटो संवाद कि विग्रहको?- ओली, तपाईंमा अझै अहंकार र दम्भ हटेन- प्रचण्ड


मङ्सिर १४, काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोपको एक–एक जवाफ दिँदै संवाद वा विग्रहको बाटो रोज्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् ।

दाहालले गत कात्तिक २८ गते प्रस्तावका रूपमा १९ पृष्ठको दस्ताबेज ल्याएपछि त्यसको प्रतिवादमा ओलीले शनिबार सचिवालय बैठकमै पेस गरेको ३८ पृष्ठ लामो दस्ताबेजमा वारपारकै अवस्थामा पुगिएका अनेक प्रसंग उल्लेख गरिएका छन् । बितेका २९ महिनादेखि ८ लाख नेता–कार्यकर्ताको संयुक्त नेतृत्व गर्दै आएका अध्यक्षद्वय लिखित आरोप–प्रत्यारोप गर्दै वार कि पारको अवस्थामा पुगेका हुन् ।

ओलीले पार्टी एकता हुनुभन्दा अघिका विषयवस्तुसमेतलाई स्मरण गराउँदै दाहालले यसबीचमा निर्वाह गरेको भूमिका र उनको कार्यशैलीमाथि टिप्पणी गरेका छन् । कतिपय प्रश्नको जवाफ दिँदै र कतिपय ठाउँमा दाहालमाथि नै संगीन आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सोधेका छन्, ‘पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरूको ?’ उनले अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेलेको विश्लेषण गर्दै समयले यसको उचित हिसाब गर्ने बताएका छन् । ‘पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपाईंले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ?’ दाहाललाई ओलीको प्रतिप्रश्न छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्ताबेज पेस गरेपछि अध्यक्ष दाहालले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताएका छन् । उनले बैठकमै ओलीलाई पार्टी विभाजनको नाइकेका रूपमा चित्रित गरे । ओलीले दाहाल नै पार्टी विखण्डनको दिशातर्फ उन्मुख भएको निचोडसहितको प्रस्ताव पेस गरेपछि दाहालले आफूले अहिलेसम्म त्याग गर्दै आएको र ओलीले पार्टी विभाजनका लागि विभिन्न हर्कत गरेर जनतालाई धोका दिएको आक्षेप लगाए ।

‘तपाईंमा गल्ती सच्याउने तत्परता छैन, यो दस्ताबेजमा पनि अहंकार र दम्भ छ,’ दाहालले बैठकमा भने, ‘मिल्न खोजेजस्तो छैन ।’ दाहालले गत वर्ष केन्द्रीय कमिटी बैठकपछि राजधानीको पशुपति भिजन कम्प्लेक्समा ओली पक्षका व्यक्तिहरू बसेर एमाले ब्युँत्याउने प्रयास गरेको र त्यही पृष्ठभूमिका आधारमा दल विभाजन गर्ने अध्यादेश ल्याएको आरोप लगाए ।

ओलीले दाहालको प्रस्तावमाथि जवाफी प्रस्ताव पेस गरेपछि अब यी दुवै प्रस्तावबारे आउँदो सचिवालय बैठकमा नेताहरूबीच छलफल हुने भएको छ ।

नेकपा सचिवालयको बैठक आउँदो १६ गतेका लागि बोलाइएको छ । उक्त बैठकपछि दुवैका दस्ताबेजलाई कसरी अघि बढाइन्छ, त्यसैमा नेकपाको भविष्य निर्धारण हुनेछ । धेरै नेताहरूले दुवै अध्यक्षका दस्ताबेजलाई मिलाएर दुवै सच्चिने गरी पार्टी एकतालाई जोगाइराख्नुपर्ने दबाब दिएका छन् । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेका छन् ।

१४ मंसिर २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको