असोज १३, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका जुगारस्थित जनजागृति माविको ८ कोठे भवन उद्घाटन गरिएको छ। ८ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष वलीले राष्ट्रको मेरुदण्ड नै शिक्षा भएकाले त्यसको विकासका लागि त्रिवेणी गाउँपालिकाले शिक्षालाई पहिलो स्थानमा राखेको बताएका छन्। उक्त भवन ८० लाख लागतमा निर्माण कार्य सम्पन्न भएको भवन निर्माण उपभोक्ता समिति अध्यक्ष रामप्रसाद रानाले जानकारी दिएका छन्।
विद्यालयमा नयाँ ८ कोठे भवन बनेपछि विद्यार्थी र अभिभावकहरु खुशी भएका छन्। भवनको निर्माण कार्य गत माघ १ गतेबाट सुरु भएको थियो। ६६ लाख ४९ हजार गाउँपालिकामार्फत विनियोजित रकम र १३ लाख ५१ हजार बराबर स्थानीय जनताको श्रमदानबाट काम सम्पन्न भएको विद्यालय श्रोतले जानकारी दिएको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शान्तकुमार वली, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, ५ नं. वडा अध्यक्ष कृष्णबहादुर केसी, वडा सदस्य जातिराम घर्ती, प्रशासकीय अधिकृत हेमराज उपाध्याय, शिक्षा शाखा प्रमुख लिला घर्ती, कानुन शाखा प्रमुख प्रेमप्रकाश, भवन निर्माण उपभोक्ता समिति अध्यक्ष रामप्रसाद राना, विद्यालयका प्रअ जीवराज भण्डारी, नेकपा युवा नेता डिल बहादुर केसी लगायत जनप्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ, अभिभावकहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस