सुस्मिता हत्या प्रकरणका आरोपी सार्वजनिक, जबर्जस्ती करणी गरेको खुल्ने डरले हत्या !


असार १५, हेटौंडा — मकवानपुर प्रहरीले सुस्मिता थापाको हत्याको आरोपमा चार जनालाई सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा मृतक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता गत असार २ गते आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजित रुपमा परिवारबाटै उक्त हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

उनको हत्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुसन्धानबाट खुलेको छ । सुस्मिताका श्रीमानको नौ महिना अगाडी नै सवारी दुर्घटनामा परी मृत्यु भएको थियो |

श्रीमानको मृत्यु पश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै यातना हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ | प्रहरीका अनुसार सुसराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानको क्रममा खुलेको छ । जवरजस्ती करणी प्रयास गरेको घटना बाहिर आउने डरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ |

प्रहरीका अनुसार मृतककी श्रीमानको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो ।

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको