विज्ञ भन्छन्, ‘नेपालमा सलहले ठूलो क्षति गर्दैन’


असार १५, काठमाडौँ । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु-याउन नसक्ने बताइएको छ। सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन ।

तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो। अब पनि क्षति गर्ने सम्भावना छैन।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर जाने उनले बताए।

विज्ञहरूका अनुसार पहेँलो रङको सलह धेरै दिनसम्म बाँच्न सक्दैन । वयस्क सलह चारदेखि पाँच हप्तासम्म बाँच्छन् र नेपाल भित्रिएको सलहमा वयस्क एकदम थोरै रहेको छ, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईं भनाइ छ । नेपालमा देखिएको सलह आफ्नै बासस्थान फर्किनेछन् या नेपालमै हराउनेछन् भन्दै उनले थपे, हाल नेपालमा देखिएको कीराबाट आत्तिनुपर्ने अवस्था छैन तर भारतबाट अझै प्रवेश ग-यो भने समस्या हुनसक्छ। यो समाचार गोरखापत्र अनलाइनमा छ |

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको