आहा ! कति रमाइलो असार, २८ तस्वीरमा हेर्नुहोस् (फोटोफिचर)

असार १५, नुवाकोट |

 सानो छ खेत सानो छ बारी सानै छ जहान !!

नगरी काम पुग्दैन खान साँझ र बिहान !!

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।।

 

रचनाकार एवं लेखक माधव प्रसाद घिमिरेको यो कविता यतिबेला हरेक किसानको ओठमा गुन्जिरहेको छ, अनि हरेक पाखा पखेरामा |  किसानहरु यतिबेला आफ्नै काममा व्यस्त छन् | किनकि यो माना रोपेर मुरी फलाउने समय हो | कतै हो हो माले, हो हो तारे गुन्जीरहेछ त कतै  आधुनिक कृषि प्रविधिलाई पछ्याउँदै ट्याक्टर गुडिरहेछ |

किसानहरु खेतबारीमा काम गर्न नै व्यस्त छन् | वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् किसान | असारे महिना भएकाले नै हरेक उकालीओराली अनि भन्ज्याङ चौतारीमा भेटिनेहरुको हातमा हलो, जुवा र कुटो कोदाली देखिन्छ | साँचै भनौँ यतिबेला गाउँबेसी असारे भाकाहरुले गुन्जायमान छ |

यतिबेला विश्व नै कोरोनाले आक्रान्त बनेको छ | सरकारले कोरोना नियन्त्रणका लागि गत चैत ११ गतेदेखि बन्दाबन्दी अर्थात् ‘लकडाउन’ गर्दै आएको छ | जसको कारण देशका हरेक क्षेत्रमा असर परेको | नेपालमा हालसम्म १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ, भने कोरोना संक्रमण कै कारण २८ जनाले ज्यान गुमाइसकेका छन् |

किसान भने माहामारीकैबीच मानो रोपेर मुरी फलाउने तर्खरमा व्यस्त छन् | कोरोनाको भन्दा पनि भोलिका लागि अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ता छ किसानलाई | नेपाल कृषिप्रधान देश हो | यहाँका ८० प्रतिशत मानिस कृषिपेसामा नै संलग्न छन् | यसवर्ष लकडाउनले गर्दा लामो समयदेखि बाँझो रहेका खेतबारी पनि फुटेका छन् | बाँझै छाड्दा झाँडी बनेका खेतमा समेत यस वर्ष धान रोपाई भएको छ |

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस  | नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । आजको दिन दहि चिउरा खाने प्रचलन पनि रहेको छ | मनसुन सुरु भएदेखि नै रोपाई सुरु भए पनि आजको दिनको छुट्टै महत्व छ | हलिहरु गोरु जोत्नमा व्यस्त हुन्छन् | असारे भाकाहरुमा लय भर्दै रोपारहरु छुपुमा छुपु धान रोप्न व्यस्त हुन्छन् भने लाठेहरु बाउसेका गर्नमा, कहिलेकाही बाउसेको बहानामा रोपारहरुलाई हिलो छ्याप्न समेत भ्याउँछन् | कतिपय भने दिनभरको थकाई बिर्सदै हिलो खेलेर रमाउँछन् | आहा ! साँचै कति रमाइलो छ असार |

असार १५ :- २८ तस्वीरमा हेर्नुहोस् !

घुम

तस्वीर : सरस्वती अधिकारी/नुवाकोट 

प्रतिक्रिया दिनुहोस