चीनबाट सुखद् समाचार


चैत्र १६, बेइजिङ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा थप संक्रमित संख्यामा कमी आएको छ ।

डिसेम्बर अन्तिममा भाइरस संक्रमण देखिएयता शनिबार चीनभर मात्र ४५ जना नयाँ संक्रमित पाइएका छन्, जसमध्ये एकजना बाहेक सबै विदेशबाट फर्किएका व्यक्ति हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको पछिल्लो ७ दिनको तथ्यांकलाई हेर्ने हो भने, चीनभर ३ सय १३ जना बाहिरबाट आयातित संक्रमित पाइएकामा मात्र ६ जना घरेलु संक्रमित छन् । आयातित संक्रमितमध्ये अधिकांश विदेशबाट फर्किएका चिनियाँ नागरिक नै छन् । कोरोना भाइरसको उद्गमस्थल हुबेई प्रान्तको राजधानी वुहानमा पछिल्लो १० दिनमा मात्र एक जना नयाँ संक्रमित पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ ।

चीनभर मृतकको संख्यामा पनि उल्लेख्य कमी आएको छ । शनिबार थप ५ जनाको मात्र मृत्यु भएको छ । मृत्यु हुने पाँचैजना वुहानकै हुन् । हुबेई प्रान्तमा लगातार चौथो दिन शनिबार पनि नयाँ संक्रमित भेटिएको छैन । पछिल्लो चार दिनभित्र मात्र एकजना मात्र घरेलु संक्रमित पाइएको छ, त्यो पनि हुबेईको सीमावर्ती हेनान प्रान्तमा ।

चीनमा घरेलु संक्रमित संख्या लगभग शून्यमा पुग्दै गर्दा केही आयातित संक्रमित देखिएपछि उसले कडा कदम चालिसकेको छ । आइतबारबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन् भने शनिबारबाटै विदेशीलाई मुख्यभूमि चीनतर्फ प्रवेशमा रोक लगाइसकिएको छ ।

संक्रमण दर घट्दै गएपछि अढाई महिनाभन्दा बढी अवधिसम्म ‘लकडाउन’ रहेको वुहान आंशिक रूपमा खुला गरिएको छ । सहर भित्रने सडक र रेल सञ्जाल शनिबारबाट सुचारु गरिएका छन् । यद्यपि वुहानबाट बाहिरिन भने अझै पनि प्रतिबन्ध लगाइएको छ ।

जनवरी १५ मा ‘लकडाउन’ गरिएपछि पहिलोपटक शनिबार रेलमार्ग हुँदै ६० हजारभन्दा बढी चिनियाँ वुहान पुगेका छन् । आइतबारबाट तिहानी विमानस्थलबाहेक वुहानका सबै विमानस्थलले केही आन्तरिक उडान सुचारु गरेका छन् । तिहानी विमानस्थल आउँदो अप्रिल ८ बाट सुचारु हुने जनाइएको छ । हुबेईबाट बेइजिङको उडान भने अझै पनि स्थगित छ ।

‘अहिले वुहानको वातावरण सुखद् छ । संक्रमण फैलिएका बेलाजस्तौ मानिस आतंकित छैनन् । महामारीको अवस्था निकै डरलाग्दो थियो, तर अहिले त्यस्तो अवस्था छैन,’ हु थरका एक वुहानवासीले समाचार संस्था रोयटर्ससँग भने, ‘अहिलेको अवस्था नियन्त्रणमा छ ।’ हुबेई सरकारले आइतबार आफ्नो आधिकारिक ‘वीच्याट’ अकाउन्टमार्फत अढाई महिनाभन्दा लामो समयदेखि बन्द वुहानस्थित कैयौं सपिङ मल सोमबारबाट खुला गर्न दिइने जनाएको छ ।

चीनभर हालसम्म ८२ हजार ६१ जना कोभिड–१९ संक्रमित पुष्टि भएकोमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ७६ जनाको उपचारपछि निको भइसकेका छन् ।

१६ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको