पर्यटनको खानी, सुन्दर कर्णाली (फोटो कथा)

कर्णालीलाई समृद्ध बनाउने पहिलो विकल्प पर्यटन

रारा ताल

फागुन १७, सल्यान । प्राकृतिक सुन्दरताले भरिएको प्रदेश हो, कर्णाली । यो प्रदेशलाई समृद्ध बनाउन पर्यटनको विकास नै प्रमुख भएको निष्कर्ष सबैले निकालेका छन् । यसर्थमा समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो । कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ पनि मनायो । जसबाट चार लाख ५४ हजार ८ सय ६४ आन्तरिक र २१ हजार २ सय ९१ बाह्य पर्यटक भित्र्याउन सफल भएको भन्दै सरकारले उपलब्धी समेत सार्वजनीक गर्याे ।

साथै कर्णाली प्रदेश सरकारले ‘यसपालि घुमौँ कर्णाली’ नारा चयन गर्दै भ्रमण वर्ष २०२० को सुभारम्भ गरेको छ । प्रदेश सरकारले आफ्नै लोगोसमेत सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० मा एक लाख विदेशी पर्यटक र आन्तरिक चार लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।


का‌क्रे वीहार सुर्खेत

प्रदेश सरकारले भ्रमण वर्षलाई सफल गराउन ४० वटा पर्यटकीय गन्तव्य पहिचान गरेर प्रचारप्रसार गरेको छ । संघीय सरकारबाट पनि कर्णालीका १३ पर्यटकीय स्थलहरु छनौटमा परेका छन् । कर्णालीको आभूषणको रूपमा रहेका से—फोक्सुन्डो, राराताल र नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका र कालिकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाताल छहरा आदि नेपालको प्राकृतिक सम्पदाका एउटा परिचय हुनसक्छन् भने हुम्ला विश्व तीर्थ यात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार बन्न सक्छ ।

नेपालकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा कर्णालीलाई विकास गर्ने हो भने यसबाटै यहाँको आर्थिक अवस्थालाई माथी उठाउन सकिने प्रशस्त आधार रहेका छन् । कर्णाली प्रदेशमा रहेको मुर्त तथा अमुर्त सांस्कृतिक तथा धार्मिक र प्राकृतिक सम्पदाहरुको संरक्षण र विकास गर्दै प्रदेशको आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको पर्यटन क्षेत्रको माध्यमबाट रोजगारीको सृजना, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र प्रादेशिक आर्थिक विकाश र समुन्नतीमा टेवा पुग्न सक्छ ।

स्वर्गको अप्सराः रारा

रारा ताल

मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुन्द्री सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । चारैतीर हरियाली जंगलबाट घेरिएको रारा । विचमा स्वच्छ पानीले भरीभराउ भएको रारा तालले घामको किरण अनुसार आफ्नो रंग छिन्छिनमै फेरिरहेको हुन्छ ।

एकपटक रारातालमा पुगेर त्यहाँको सुन्दरता नियाल्ने जो कोहीलाई सैपाल हिमालको मनोरम दृश्यले पनि थप मनमोहक बनाउँछ । त्यसमा पनि हिमपातले चाँदी झैं टल्किएका हिमाल तथा बाटाहरुले त स्वर्गको अप्सरा जस्तै देखिने राराताललाई झनै सुन्दरताको पकडी बाँधी दिन्छ । रारातालमा हवाई तथा स्थलमार्ग दुवै प्रयोग गरेर जान सकिन्छ । यसको लम्बाई ३.२ किलोमिटर छ भने चौडाई १ सय ६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । स्थानीयहरु भन्छन्, रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । रारालाई सारा विश्वभरि नै चिनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्छ ।

शे फोक्सुन्डो_डोल्पा

उत्कृष्ट १३ स्थल

संघीय सरकारले कर्णाली प्रदेशका १३ पर्यटकीय स्थल छनौट गरेको छ । रारा सहित डोल्पाको शेफोक्सुन्डो र त्रिपुरा सुन्दरी मन्दिर, सल्यानको कुपिण्डे दह, सुर्खेतको काँक्रेविहार र देउती बज्यै, जुम्लाको चैत्य र सिंजा उपत्यका, हुम्लाको लिमि उपत्यका सरकारको छनौटमा परेका पर्यटकीय गन्तव्य हुन् । यस्तै कालिकोटको पाचाल झरणा, दैलेखको पञ्चदेवल, जाजरकोटको खलंगा दरबार, रुकुम पश्चिमको चित्रे पाटन छनौटमा परेका पर्यटकीय गन्तव्य हुन् ।

हल्जी गुम्बा_हुम्ला

कर्णाली सरकारको नजरमा ४० पर्यटकीय गन्तव्य

नेपाल भ्रमण वर्ष २०२० का लागि कर्णाली प्रदेशले भने ४० वटा पर्यटकीय स्थललाई छनौट गरेको छ । हुम्लाको लिमी उपत्यका र खार्पुनाथ सिमिकोट, मुगुको राराताल र छाँयानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर पातारासी र सिँजा उपत्यका, कालिकोटको पचाल झरना, चुलीमालिका, कोटदरबार पिली र मान्म बजारलाई पर्यटकीय स्थलको सूचीमा छनौट गरिएको छ ।

कुपीण्डे ताल सल्यान

त्यस्तै, दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह र छायाँनाथ तथा खैरावाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल र स्यार्पुताल मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा, शेफोक्सुण्डो ताल र त्रिपुरासुन्दरी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा राखिएका छन् ।

देउती बज्यै सुर्खेत

उत्कृष्ट नमुना सल्यान

पर्यटन राष्ट्र निर्माणको एउटा मेरुदण्ड हो । आर्थिक समृद्धिको एउटा महत्वपूर्ण खम्बाको रुपमा रहेको पर्यटनको विकासले देशलाई छिट्टै माथि उठाउन सकिने भएकाले आफु सल्यानमा पर्यटन विकासमा लागिरहेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला बताउँछन् । उनी भन्छन्, प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक स्थल, पर्या पर्यटन, साँस्कृति विविधता, कृषि पर्यटन, युद्ध पर्यटन लगायत बहुआयामिक क्षेत्र छन् सल्यानमा, जसको विकासले पर्यटन विकासको आधार निर्माण गर्न सकिन्छ ।

खैरावा‌ग भगवती मन्दिर सल्यान

सल्यानमा प्राकृतिक सुन्दरताको अनुपम नमूना कुपिण्डे ताल सबैभन्दा उच्च महत्वको पर्यटन गन्तव्यको रुपमा रहेको छ । सल्यान सदरमुकामदेखि करिब १५ किलोमिटर टाढा पर्ने यो ताल असाध्य मनमोहक छ । यस्तै कर्णाली प्रदेशको प्रवेशद्धार कपुरकोट पनि वेमौषमी तरकारि खेतीले नेपालमै प्रसिद्ध छ । यहाँ घंगारि चौर पार्क र सिद्ध गुफा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छन् । वनस्पती उद्यान, देशकै एकमात्र अदुवावाली अनुसन्धान केन्द्र पनि कपुरकोटमै रहेका छन् ।

सल्यान छायाँछेत्र

यस्तै कालिमाटी रामपुरमा रहेको कछुवा दह प्राकृतिक सुन्दरताको अनुपम नमूना छ । तल शारदा नदी, माथि पहाड, पहाडको काखमा रहेको कछुवा दहमा डुङ्गामा सयर गर्न सकिन्छ । यस्तै लेखपोखरामा अत्यन्त आकर्षक र अनौठो गुफा छ । सो गुफा साततलाको भएकोले साततले चाँदनी गुफा नाम राखिएको छ । बागचौर नगरपालिकाको मोख्ला बजार नजिक पर्ने शिव गुफा पनि धेरै आकर्षक छ । लामो सुरुङजस्तो गुफामा धेरै पर्यटक आउने गरेका छन् ।

सल्यानको कुमाख लेक

यस्तै कुमाख लेक सल्यानको अग्लो लेक हो । यो आफैमा एउटा अत्यन्त सुन्दर प्राकृतिक सम्पदा हो । कुमाखको सुन्दरता र महत्व यसको उचाईजस्तै अग्लो छ । सल्यानमा पर्यटक आकर्षण गर्नसक्ने केही नदी खोलाहरु पनि छन् ।

कर्णाली प्रदेशको एक प्रमुख नदी भेरी नदी सल्यान जिल्लाको पश्चिम भागबाट बगिरहेको छ । त्यसरी नै सल्यानको काल्चे र कापे्रचौर भएर बबई नदी बगिरहेको छ । यता सल्यानको ठूलो भूभाग छिचोलेर शारदा नदी बगेको छ । यसले आफ्नो वरीपरि फराकिलो फाँट दिएको छ ।

सल्यानमा ऐतिहासिक धार्मिक आकर्षणका केन्द्र पनि रहेका छन् । खैराबाङ्ग भगवति मन्दिर सल्यानको प्रमुख धार्मिक स्थल हो । पाटेश्वरी भगवतिको नामले चिनिने यो मन्दिरका आफ्नै विशेषता छन् । जे बर माग्यो त्यो पुग्छ भन्ने मान्यताका आधारमा खैराबाङ्ग भगवतिको दर्शन गर्न बर्षेनी हजारौं मान्छेहरु झुम्मिन्छन् ।

छायाँक्षेत्र सतिदेवीको सम्पूर्ण शरीर पतन भएको स्थानको रुपमा स्वस्थानी ब्रत कथामा उल्लेख भएको छ । छत्रेश्वरी देवीको मन्दिर एक महत्वपूर्ण धार्मिक स्थल हो । वर्षभरी नै मन्दिरमा पूजापाठ र दर्शन हुने गर्छ ।

कुपिण्डे ताल

यस्तै लक्ष्मीपुर सतिदेवीको करङ पतन भएको स्थानको रुपमा स्वस्थानी ब्रत कथामा उल्लेख भएको छ । कालिमाटी गाउँपालिकामा रहेको यो धार्मिक तथा ऐतिहासिक स्थल अर्को पर्यटकीय स्थलको रुपमा परिचित छ । कालिमाटीकै रामपुरमा रहेको देउती बज्यै मन्दिर एक धार्मिक स्थलको रुपमा स्थापित छ । कृषि पर्यटन र युद्ध पर्यटनको पनि यहाँ राम्रो सम्भावना छ ।

नेपालको सबैभन्दा ठूलो ताल रारा ताल, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम सिमीकोट, नेपालको सबै भन्दा गहिरो ताल फोक्सुण्डो ताल, विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ति डोल्पामा अवस्थित छर्का लगाएत एक हजार वर्षभन्दा पनि पुरानो हुम्लाको हल्जी गुम्बा कर्णाली प्रदेशमै छन् । तर, यसको उचित प्रसार प्रसार तथा प्रबद्र्धन हुन सकेको छैन ।

कपुरकोटको तरकारी

यो क्षेत्रको प्रमुख आय श्रोत भनेको पर्यटन र जडीबुटी नै हो । यसैमा कर्णालीको समृद्धि खोज्नुपर्नेमा गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले जोड दिएका छन् ।

उनी भन्छन्, ‘पहिलो कुरा राम्रो नीति, खोज–अनुसन्धान, बजेटको विनियोजन, पारदर्शिताका साथै भ्रष्टाचार न्यूनीकरण र स्थानीयहरूको व्यापकरुपमा सहभागिता र परिचालन गर्दै अपनत्वको भाव उत्पन्न गराउन सक्नु पर्दछ । अनीमात्रै कर्णालीमा पर्यटन विकास सम्भव छ ।’

तस्वीरः टिका विष्ट/शंकर के सी

२०७६ फाल्गुन १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको