नेकपाको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा सुरु


माघ १५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा सुरु भएको छ । बैठक बिहान ११ बजे सुरु भएको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । बैठकमा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

पार्टी एकतापछि नेकपाको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन् । पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको नेकपाले जनाएको छ ।

नेकपाको विधानअनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछन् । बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन् ।

मंगलबार बसेको नेकपा सचिवालय बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । सचिवालय बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटीमा पेस गरिने एजेन्डाबारे जानकारी दिएका हुन् ।

उनका अनुसार बैठकका कार्यसूची निम्नानुसार छन् ।

-सहिदहरुप्रति श्रद्धाञ्जली ।
-अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य ।
-अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने ।

-महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने ।
-सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने ।
-समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु) ।
-विविध ।

१५ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको