मङ्सिर १३, झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताए ।
जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एकता आवश्यक रहेको उनले बताए ।
झापाको विर्तामोडमा सिद्धार्थ होटल ग्रान्डसिटीको शनिवार उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने–‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।’
उनले नेकपाभित्रको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा नेकपा अघि बढ्ने विश्वास व्यक्त गरे ।
शनिबार काठमाडौंमा चलिरहेको नेकपा सचिवालयको बैठकतर्फ इङ्गित गर्दै उनले सचिवालयले समस्याको हल गर्न नसके स्थायी कमिटीले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिने दावी गरे ।
‘सचिवालयले हल गरेन भने स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ’’- उनले भने ।
नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभंग गर्दै अघि बढ्ने जनाउँदै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपंथी र चरम बामपंथीको चलखेललाई विफल तुल्याइने बताए ।
प्रतिक्रिया दिनुहोस