नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुन्छ: मन्त्री पुन


मङ्सिर १३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन्।

मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष र बहस हुनुलाई अस्वाभाविक रूपमा लिन नहुने उल्लेख गरे। नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे। ‘हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ। घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ’ काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत गृहको शनिबार निरीक्षण भ्रमणका क्रममा जिल्लास्थित नेकपा नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले भने’, घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ।’

उनले नेताहरूबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बसहमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे।

सत्तारूढ पार्टीभित्र विवाद चर्किएका कारण सिंगो मुलुकको ध्यान त्यसैमा केन्द्रित भएकाले छिट्टै निकास दिने गरी छलफल हुने स्पष्ट गरे।

मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे। यस्तै, सरकारले पार्टीसँगको समन्वयमा काम गर्नुपर्ने उनको भनाइ थियो।

१३ मंसिर २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको