मङ्सिर १३, काठमाडौँ । देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव हटेकाले देशभर शुक्रबार रातिदेखि नै मौसम सफा भएको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् ।
मौसमविद पौडेलका अनुसार दुई–चार दिनलाई पानी पर्ने कुनै प्रणाली नभएकाले देशभरको मौसम सफा रहनेछ ।
तर जाडो भने बढ्ने क्रममा रहेको उनले बताए । जाडोको मौसम भएकाले विशेष गरि पहाडी तथा हिमाली क्षेत्रमा तापक्रम घट्दै जाने उनको भनाई छ । तराई तथा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान भिजिबिलिटी कम हुने भएपनि दिउँसो हटेर जाने उनले जानकारी दिए ।
विगतका दुई दिन पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको थियो र केही स्थानमा हल्का पानी पनि परेको थियो ।
प्रतिक्रिया दिनुहोस