अढाइ खर्बले घट्यो आयात, व्यापार घाटामा सुधार


साउन १३, काठमाडौं | आर्थिक वर्ष २०७६-७७ मा मुलुकमा अघिल्लो वर्षको तुलनामा साढे दुई खर्बको वस्तु तथा सेवाको आयात घटेको छ । कोभिड १९ को कारणले गर्दा मुलुकमा २ खर्ब ४८ अर्ब ९३ करोड ६२ लाख ९० हजार रुपैयाँले आयात घटेको भन्सार विभागले सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रभावले आयात निर्यातमा कमी आउँदा समग्र वैदेशिक व्यापारमा नै कमी आएको छ ।

आर्थिक वर्ष ०७५-७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँको वस्तु आयात भएको गएको वर्ष १५.६० प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ७९ करोड ९ लाख ५३ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङक छ । आयातमा भएको गिरावटले गर्दा गएको वर्ष नेपालको व्यापार घाटा घटेर ११ खर्ब ६४ करोड रुपैयाँ झरेको छ । अघिल्लो वर्ष १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ व्यापार घाटा रहेको थियो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले ११ चैत देखि लकडाउन गरेको थियो । त्यसबेला अत्यावश्यक वस्तुबाहेक सवै आयातमा रोक लगाइएको थियो । जसले गर्दा समग्र बैदेशिक व्यापारमा गिरावट आएको छ । व्यापार विज्ञ पुरुषोतम ओझाका अनुसार अस्वभाविक परिस्थितिले गर्दा आयात निर्यातमा कमी आएकाले समग्र अर्थतन्त्र आगामी दिनमा कसरी जान्छ भनेर अहिले यथार्थ मूल्याङकन गर्न नसकिने अवस्था छ । आगामी दिनमा आयात निर्यात गर्ने मुलुकमा कोरोनाको संक्रमणको अवस्था के हुन्छ त्यसले माग समग्र व्यापारको अवस्थालाई निर्धारण गर्ने उनको भनाइ छ ।

विश्वभर चलेको कोरोना महामारीको लहरसँगै गरिएको लकडाउनले आयात र निर्यात कम भएसँगै गत आवमा १४.६९ प्रतिशतले नेपालको वैदेशिक व्यापार घटेको देखिएको हो । आव २०७५-७६ मा ९७ अर्ब १० करोड रुपैयाँबराबरको सामग्री निर्यात भएकोमा ०७६-०७७ मा ९६ अर्ब १५ करोड बराबरको मात्रै निर्यात भएको छ । गएको वर्ष समग्रमा आयात, निर्यात, व्यापार घाटा र भन्सार राजस्व संकलनमा कमी आएको भन्सार विभागको भनाइ छ ।

मुलुकबाट निर्यात हुने प्रमुख सामग्रीको सूचीमा नेपालमा उत्पादन नहुने पाम र भटमासको तेल परेको छ। जुन अन्य देशबाट नेपाल ल्याई प्रशोधन गरेर व्यवसायीले भारत निर्यात गरिरहेका छन्। गत वर्ष १८ अर्बको पाम तेल र १२ अर्बको भटमास निर्यात भएको विभागको तथ्यांक छ । पाम तेल नेपालमा उत्पादन हुँदैन। अन्य देशबाट पाम भन्ने रूखबाट उत्पादन हुने वनस्पति तेलको कच्चा पदार्थ यहाँ ल्याई निर्यात हुन थालेको दुई वर्ष भयो। साफ्टा सदस्य राष्ट्रहरूभन्दा बाहिरका देशबाट यो तेल निर्यात भए गुणस्तरका आधारमा ४० प्रतिशतसम्म भन्सार महसुल लाग्ने व्यवस्था भारतले गरेको छ । मुलुकबाट ७ अर्बको धागो, ६ अर्बको ऊनी तथा गलैंचा र ४ अर्ब रुपैयाँको तयारी कपडा निर्यात भएको छन् ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै डिजेल र पेट्रोल एक खर्ब १५ अर्ब रुपैयाँको आयात भएको छ । ४२ अर्ब रुपैयाँको एमएस फलाम, ३० अर्बको एलपी ग्यास, २४ अर्बको एचआर सिमेन्ट र २३ अर्बको तयारी कपडा आयात भएको छ । कारोबार दैनिकमा यो समाचार छापिएको छ |

२०७७ श्रावण १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको